६ बुँदे शर्तसहित ओलीलाई 'अल्टिमेटम' दिएका माधव समूहकाे बैठक जारी

६ बुँदे शर्त पूरा नभए संसद पदबाट सामुहिक राजीनामा दिने तयारीमा रहेकाे एमाले माधव नेपाल समूहकाे बैठक जारी छ।

संघीय संसद सचिवालयमा अध्यक्ष केपी शर्मा ओलीविरूद्द रणनैतिक याेजना बनाउने विषयमा छलफल गर्न बैठक बसिरहेकाे माधवनिकट एक स्थायी कमिटी सदस्यले बताएका छन्।

पार्टी एकताका लागि अध्यक्ष ओलीलाई सोमबार बिहान नौ बजेसम्मको 'अल्टिमेटम' दिएका उनीहरुले राजीनामाको तयारी समेत थालेकाे बताइएकाे छ। 

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वास मत लिनुअघि उनीहरु राजीनामाको निर्णयमा पुग्ने स्राेतले बताएकाे छ।


माधव नेपालका ६ शर्त –


१. सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को विधान, नियमावली, आचारसंहिताअनुरूप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनुपूर्वको अर्थात् जेठ २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेसागत संगठनका सबै संरचनाहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउने। 

२. नवौँ राष्ट्रिय महाधिवेशको मार्ग निर्देशन र पार्टीको विधानविपरीत २०७७ साल फागुन २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्नेलगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरू खारेज गर्ने। 

३. पार्टीलाई विधि, विधान र पद्धतिअनुरूप सञ्चालन गर्ने। 

४. पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरू तथा एक–अर्काप्रति लगाइएका आरोप–प्रत्यारोप एवं समस्याहरूको बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने। 

५. सरकार र पार्टीको बीचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरी हित, अपेक्षा र आवश्यकताअनुसार सञ्चालन गर्ने।

६. उक्त कुराहरूको आधारमा पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने। यथासमयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरू सम्पन्न गर्ने।

प्रकाशित मिति: : 2021-05-10 09:02:00

प्रतिकृया दिनुहोस्