भूतपूर्व

म सकिएको छैन
र, सकिन्न कहिले
समयको प्रवाहमा सधैँ छु
भूतपूर्व कहिले भइन
म सधैँ यात्रामा छु
वर्तमान म मात्र हुँ
केबल म, सिर्फ म

म गन्नै नसकिने कोष हुँ
शब्दकोश होइन 
भट्ट्याएर बनेको कोसे ढुङ्गा पनि होइन
न चार कोसे यात्रा तय गरेको 
न बोसो लागेर चोसो परेको
न चोसोमोसो कसैसँग 
किन टोकसो सधैभरि यो
झुसिलो डकारको ?

'ओस चाटेर तिर्खा मर्दैन'
तर बिहानीको चोखो ओस हु
जहा सूर्य प्रतिविम्बत हुँदा
कोटी सूर्य जल्छ
सिङ्गो ब्रह्माण्ड देख्छु त्यहाँ
अनि त्यसभित्र देख्छु जीवन
त्यो जीवन - 
जहाँ म हाँसिरहेको छु।

प्रकाशित मिति: : 2021-05-08 19:19:00

प्रतिकृया दिनुहोस्