‘युद्ध लडिरहेका सिपाहीभन्दा बढी जोखिम’
रूपन्देहीको भैरहवास्थित भीम अस्पतालकी स्टार्फ नर्स हुन् २३ वर्षीया बिनिता भट्टराई।
जिल्लाको तिलोत्तमा नगरपालिका–९ मंगलापुरकी बिनिताले डेढ वर्ष अघिदेखि अस्पतालमा सेवा गरिरहेकी छन्।
विश्व महामारी कोरोना भाइरस संक्रमण शुरू हुनुभन्दा केही अघिदेखि स्वास्थ्य सेवामा प्रवेश गरेकी बिनिताले पछिल्लो १५ दिनयताको जस्तो जटिल अवस्था कहिल्यै भोगिनन्, देखिनन्।
कोभिड–१९ संक्रमित बिरामीको जीवन रक्षाका लागि अहिले बिनितालाई खाना खाने समेत फुर्सद छैन। ‘फ्रन्टलाइन’मा सक्रिय उनको दिनचर्या नै फेरिएको छ।
कोरोनाको दोस्रो लहरबाट गम्भीर संक्रमित भएकाको उपचारमा खटिएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले अहिले अलि फरक अनुभूति गरेका छन्।
बिनिता भन्छिन्, ‘अहिले कोभिडमा काम गर्ने स्वास्थ्यकर्मी साँच्चै युद्ध लडिरहेका सिपाहीले भन्दा बढी जोखिममा रहेर काम गरिरहेका छन्। तर हामीले कति पनि विचलिन नभई काम गरेका छौं। यस्तो बेलामा आत्तिने होइन, बढी जिम्मेवार र जवाफदेही भएर काम गरेका छौं।’