नेपाली वाङ्मय भनेको नेपाली समाजकै भाषा, साहित्य, कला, संस्कृति, इतिहास, लोकगाथा, श्रुतिस्मृति, किम्वदन्ती एवं अन्य ज्ञानविज्ञानका अनेक श्रोतहरू आदिको संग्रहण, अभिलेखन हुँदै निरन्तर नवनीत वा अधुनातन हुँदै नेपाली जनमानसलाई चैतन्य, ज्ञान र विवेक प्रदान गरिरहने नेपाली सभ्यताको ऐना हो। सत्यमोहन जोशी नेपाललाई त्यही सभ्यताको ऐना देखाउन लागि परे, परिरहेकै छन्। यस आलेखमा नेपाली संस्कृतिका विभिन्न आयामबारे उनका दृष्टिकोणहरूलाई केहीबेर पछ्याउने प्रयत्न गरिएको छ।
सत्यमोहन जोशी आधुनिक नेपालको इतिहासका साक्षीमध्येका एक हुन्। उनी राणा प्रधानमन्त्री चन्द्र शमशेरीय कालखण्डदेखि यताको नेपालको सामाजिक, सांस्कृतिक, राजनीतिक आदि सबै आयाम र तिनका अनेक परिघटनाहरूका प्रत्यक्षदर्शी, भुक्तभोगी, जानकार एवं विवेचक पनि हुन्।
नेपालको सांस्कृतिक अन्वेषणमा उनको विशिष्ट भूमिका रहेको पाइन्छ। उनी अग्रणी सांस्कृतिक अनुसन्धाता एवं प्रतिष्ठित साहित्य साधक हुन्। सांस्कृतिक अनुसन्धानमा उनको योगदान मूलत: अमूर्त सांस्कृतिक सम्पदाका रूपमा रहेका लोकगीतहरूको खोजी, विश्लेषण एवं प्रवद्र्धनात्मक कार्यहरूमा केन्द्रित रहेको पाइन्छ भने उनी भौतिक सम्पदाको संरक्षण, सम्वद्र्धन र अन्वेषणमा पनि अग्रणी र मार्गदर्शकका हैसियतमा सम्मानित छन्। नेपाल अनेकौं जाति, रीति, भाषा, संस्कृतिद्वारा निर्मित मुलुक हो।