महामारीले देश–दुनियाँ आक्रान्त छ, बुधबार एकैदिन देशमा अहिलेसम्मकै उच्च ८६५९ जनामा कोरोना देखियो, ५८ जनाले ज्यान गुमाए । मंगलबार पशुपतिमा शव दहनको रिपोर्टिङ सकेर हामी न्युरोडतर्फ हान्नियौं, जहाँ सुनसान सडकमा नाम्लो बोकेर निराश अवस्थामा बसिरहेका एक व्यक्तिसँग भेट भयो ।
उनी आशावादी भएर पुलुक्क हामीतिर हेर्दै थिए, क्यामेरा झिकेपछि मुख खुम्चियो । हामीलाई काम दिने ग्राहक ठानेर उत्साहित भएका रहेछन् । ‘लकडाउन सुरु भएयता काम पाइएको छैन, कोही आउँछ कि भनेर ढुकेर बस्ने हो । प्रहरीले पनि कडाइ गरेको छ,’ पत्रकार हौँ भनेपछि उनले निराशा पोखे ।
‘तपाईंको नाम के हो ?’
उद्धव परियार ।
उमेर ?
५३ वर्ष ।
कति भयो भारी बोक्न थाल्नुभएको ?
‘१६ वर्षकै उमेरमा काठमाडौँ आएको,’ उनले भने ।
अवस्था सामान्य हुँदा उनले भारी बोकेर कहिले हजार, कहिले १२ सय त कहिले ४–५ सय कमाउँथे । तर, लकडाउनले हाँस्नु न रुनुको परिस्थिति सिर्जना गरेको उनले बताए । हामीले व्यक्तिगत कुरा खोतल्न थालेपछि उनले डेरा देखाउँछु भने । हामी पछि–पछि लाग्यौँ ।