कोरोना संक्रमित नर्सको बयान, 'आमाले घर आइहाल् भन्नुहुन्छ, तर बिरामी छोडेर जान मन मान्दैन' (भिडियाे)

शिलापत्र

काठमाडौँ

 प्रकृति भट्टराई 

'पुरुष मान्छेले पहिलो पटक त्यसरी रोएको देखेर म आफैँ भक्कानिएँ । श्रीमतीलाई भित्र कोभिड वार्डमा राखिएको रै'छ, मेरी श्रीमतीलाई बचाइदिनुहोस् भनेर मेरो खुट्टा समातेर रुनुभयो,' आँसु टिलपिल पार्दै नर्स कमलाले आफ्नो कथा सुकाइन् ।

पुरुष मान्छेले त्यसरी रोएको पहिलो पटक देखेकी थिइन् । त्यो बेला त उनलाई पनि सँगै बसेर रुन मन लागेको थियो तर उनी नर्स भएकाले त्यसरी सँगसँगै रुन पनि नमिल्ने ।

उनी भन्छिन्, 'नर्स नै बिरामी र कुरुवासँगसँगै रोयो भने उनीहरूको आत्मबल झन् घट्छ । तर, हाम्रो मनभित्र त्यसको ठूलो चोट लामो समयसम्म रहन्छ । आफन्तहरू आफ्नो अगाडि रोएको देखेर मन थाम्न सक्दिनँ अनि एकैछिन एकान्तमा आँसु झार्छु र फेरि ड्युटीमा लाग्छु ।' 

कमला नेपाली भेरी अस्पतालमा स्टाफ नर्सका रूपमा कार्यरत छिन् । पहिलो छालदेखि नै कोभिड वार्डमा काम गरिरहेकी कमला दुई पटक कोरोना संक्रमित भइसकेकी छिन् । दुवै पटक संक्रमित हुँदा उनी निरन्तर अरु संक्रमितहरूको सेवामा लागिपरेकी छिन् ।

दुई–दुई पटक संक्रमित भएको खबर पाएपछि उनलाई आमाले घर फर्की भन्नुहुन्छ । उता घरपट्टिबाट पनि सासूससुरा केको कमी छ घरमा, फर्क भन्नुहुन्छ । तर, कमला भने अहिलेको महामारीको बेला त पेसाभन्दा पनि धर्म गरिरहेकी छु भनेर घरपरिवारलाई सम्झाउने गरेकी छिन् । 

प्रकाशित मिति: : 2021-05-05 21:40:00

प्रतिकृया दिनुहोस्