रहर पूरा गर्न परिवारकै जीवन जोखिममा 

क्यानडा आफैमा तालै तालको देश अर्थात लेकले भरिपूर्ण देश भनेर चिनिन्छ।

यहाँ लाखौंको संख्यामा तालहरू छन्। यसमा पनि ३१ हजार ७ सय ५२ वटा ताल ३ स्क्वायर किलोमिटर क्षेत्रफलभन्दा ठूला छन्। ५ सय ६३ ताल त १ सय स्क्वायर किलोमिटर माथि रहेको छ।

क्यानडामा रहेका अन्य प्रदेशको तुलनामा अल्र्बटामा ठूला लेकको संख्या न्युन छ। गर्मीमा छुट्टी मनाउन नजिकका ताल, जंगल, पार्कमा जाने क्यानेडेली नागरिकको पुरानो प्रचलन  हो।

म स्थायी रूपमा बसोवास गर्ने शहर वरिपरि पनि साना–ठूला धेरै ताल छन्। यसमा नजिकै एउटा ताल पर्छ, जसको नाम हो– ववामुन लेक। यो लेक एड्मन्टनबाट पश्चिमतर्फ करिब ६५ किलोमिटरको दुरीमा पर्छ। यसले करिब ८२ स्क्वायर किलोमिटर भूभाग ओगटेको छ।

स्थानीय वासिन्दाका लागि यो लेक गर्मीमा छुट्टि मनाउने चर्चित गन्तव्य स्थल हो। मौसमअनुसार नै यहाँका स्थानीयहरूले जीवनशैली अपनाउने गरेका छन्। गर्मी मौसममा माछा मार्ने, पिक्निक मनाउने, क्याम्पिङ गर्ने, बोटिङ चलाउने, स्वीमिङ गर्ने जस्ता मनोरञ्जनका लागि मानिसको घुइँचो लाग्ने गरेको छ।

यस्तै जाडो मौसममा माछा मारेको, गाडी कुदाएको, आइस स्केटिङ र आइस हक्कि जस्ता खेल जमेको तालमाथि खेलिरहेका दृश्य सहजै हेर्न सकिन्छ। वर्षमा २/४ पटक यो लेक नपुगी हाम्रो पनि वर्ष बित्दैन। जस्तोसुकै मौसम किन नहोस्, त्यो तालको बाटो भएर हिँड्दा एक पटक निस्कन मन लाग्छ, मलाई पनि। 

गत डिसेम्बरमा अल्बर्टाको रक्की माउन्टेन परिक्रमा गरि पश्चिमबाट एड्मन्टन फर्किने क्रममा थिए, म सपरिवारसहित। यस्तै एक सय किलोमिटरको दुरीमा पुगेको हुनुपर्छ, एक्कासी फोनको घण्टी बज्यो।

उठाए। परिचित मित्रको रहेछ।

‘बाटोमा ओवामुन लेक आउन लाग्यो, छिर्ने कि?’– ती मित्रले फोनमा सुनाए।

गाडीमा हिँडिरहेको मैले परिवारसँग केही समय छलफल गरेपछि सहमति जनाए। फोन गर्ने व्यक्ति थिए, सहयात्री मनिष खरेल, जो परिवारसँगै अर्को गाडीमा दौडिरहेका थिए।

वास्तवमा मनिषसँग मेरो व्यक्तिगत चिनजान क्यानडा आएपछि मात्र भएको हो। विनुको भने नेपालहुँदै परिचय रहेछ। कुरा गर्दै जाँदा थाहा भयो। क्यानडा आएको केही समययता हामी अलि नजिकिएका छौं। घुमफिरमा पनि प्रायः साथै हिँड्ने गर्छौ।

रात छिपिसकेको थियो। मनिषको इसारा पाएपछि हाम्रो गाडी मोडियो ओवामुन लेकतिर। ओवामुनको किनारामै हामीले गाडी रोक्यौं। बाहिर निकै चिसो थियो। त्यसैले हामीबीच एउटा सहमति बन्यो–‘बाहिर जाडो छ, किन गाडीबाट बाहिर निस्किरहने? बरु लेकमा ड्राइभ गरौं।’

म अगाडी बढे। तर, लेकमा छिर्न पाएको छैन गाडीमा कोलाहल मच्चियो। मैले लेकमा गाडी छिराउनुअघि गाडीका टायर प्रिन्ट छन् कि छैनन्? भन्ने ध्यान चाहीँ दिएको थिए। तर, परिवारका सबै सदस्य डराएपछि पछाडि हटे। गाडी लेकमाथि सय मिटर अगाडी बढिसकेको थियो। घुमाए। मेरो ठिक पछाडि सहयात्री मनिषको गाडी आउँदै थियो। उनले पनि गाडी मोडाए।

गाडी बाहिर पार्क गरेपछि हामी दुई भाईले लेकमाथि केही परसम्म हिँड्ने प्रयास नगरेको होइन। तर, यसपल्ट पनि सम्भव भएन। यो हाम्रो दोस्रो प्रयास थियो। तर, दुवैको कुनै जोरजुलुम लागेन। यसपछि हामी उपयुक्त समय र मौसममा पुनः फर्किने वाचा गर्दै घर फर्कियौं।

लेकमा जमेको पानीमाथि गाडी कुदाउने लामो समयदेखिको रहर थियो, मेरो। हिउँदमा लेकको पानी स्थीर हुन्छ। यो निकै बाक्लो आईसको ढिक्काजस्तै जम्छ भन्ने मलाई थाहा थियो। क्यानडा र अमेरिकामा सामान ओसार–पोसार हिउँदको समयमा यस्तै लेक वा समुन्द्रमा जमेको पानीमाथिको बाटोबाट हुन्छ भन्ने समाचार पढेको र कैयौं पटक सुनेको पनि थिए। अल्बर्टा वरिपरिका लेकहरूमा जमेका पानीमाथि आइसकेटिङ्ग सिकेको र आईस हक्की खेलेको देखेको थिए। यसै कारण हुनुपर्छ, मलाई पनि लेकमा जमेको पानीमाथि गाडी कुदाउने रहर पैदा भएको।

सम्भवत दुई वर्षअघिको कुरा होला! कामको सिलसिलामा डिसेम्बरमा एक पटक म लेकमा पुगेको थिए। साथमा थिए, थीरप्रसाद पौडेल। (उनकोे केही महिनाअघि हृदयघातका कारण निधन भएको थियो।)

मैले उनलाई हामी अहिले लेकमाथि छौ नि ‘बा’ भनेको मात्र के थिए, उनी डराए। मेरो प्रयास, त्यसबेला पनि असफल भएको थियो। उनी डराएको थाहा पाएपछि मैले गाडी घुमाए। मेरो मनमा पनि डर पैदा नभएको चाही होइन् हैं त्यतिबेला।

दोस्रो पटकको असफल प्रयास पछि घर आइयो। दैनिक काममा व्यस्त भइयो। त्यतापट्टी ध्याननै गएन। एक दिन अचानक मनिषजीको फोन आयो,‘आज बिदा छ। बाहिरको मौसम पनि निकै चिसो छ। गाडीमा लेक घुमेर आउने कि?’

उनको प्रस्तावपछि मैले घर सल्लाह गरे। सहमती बन्यो। विगत दुई सातादेखि अत्याधिक चिसो बढेको थियो, यहाँ। यस्तो चिसोमा लेकको पानी पक्कै बाक्लो जमेको हुनुपर्छ भन्ने मनसायले दुवै परिवारबाट सहमति आएको पछि बुझियो।

दुवै परिवार लेकमाथि गाडी चलाएको÷कुदाएको अनुभव गर्न लागियो। ४५ मिनेटको ड्राइभपछि हामी पुग्यौं आफ्नो गन्तव्यतर्फ। यतिबेला मध्य दिन थियो। पुरै घाम लागेको। प्रवेशद्वारमा लेखिएको थियो, ‘जोखिमको भागिदार तपाई आफै’।

त्यतापट्टि खासै कसैको ध्यान पुगेन छ। टाढाटाढासम्म लेक देखिन्थ्यो। मध्यभागमा गाडी र अस्थायी घर। यसले हाम्रो आत्मबल बढाइरहेको थियो। मैले पनि अन्तरमनको डरलाई जितिसकेको थिए। सायद मनिषजीलाई पनि त्यही भएको हुनुपर्छ!

हौसिएर लेकको उत्तरी किनारबाट पश्चिमतर्फ लाग्यौं। जमेको पानी (आईस) माथि हावा लाग्दा जमेको हिउँको थुप्रो ठाउँ–ठाउँमा बाटो ओगटेर बसेको रहेछ, स्पीडब्रेकर जस्तै बनेर। त्यसमाथि गाडी कुदाउँदा गाडी नै उफ्रिने। यसले हामीलाई नेपालको बाटोमा गाडी चढेको अनुभूती दिलाइरहेको थियो।

अगाडी के आउछ? मौसमले लेकमा कस्ता–कस्ता परिस्थिति निर्माण गरेको हुन्छ? हामीले ध्यानै दिएनौं।

त्यो सोचेर समय खेर फाल्ने मुडमा पनि थिएनौं। दुवै परिवारका जुनियर सदस्यले हाम्रो यो हर्कतलाई ‘बाबाहरू’ को बच्चपना नभनेका होइनन्। हामीले कसैका कुरा सुनेनौं। लेकमाथि विजय प्राप्त गर्न एक टकले गाडी कुदाइरह्यौ।

यसको अर्थ यो पनि होइन कि, हाम्रो गाडी रफ्तारमा थियो। बेलाबेला गाडी रोक्दै हेर्दै हिँडिरहेका थियौं। लेकमाथि करिब १५/१६ किलोमिटर पश्चिमतर्फको दुरी पुरा गरेका मात्र के थियौं, अचानक मेरो गाडी रोकियो। अगाडी बढाउन खोज्छु, जादैन्। पछि गर्न खोज्छु सर्दैन। गाडी बीचैमा अड्कियो। मेसिनको भाषामा गाडी फस्यो। मेरो गाडी अगाडी थियो। मनिषजीको पछिपछि।

मेरो गाडी नचल्नुको कारण पछि पत्ता लाग्यो, गाडी फसेको ठाउँ समथर देखिए पनि त्यहाँनिर एउटा आइसको ढिस्को (बार) बनेको रहेछ। कसरी बन्यो, वास्तवमा यो अनुसन्धानकै विषय हो। तर, मेरो विचारमा हावाले वरिपरीको हिउँ उडाएर ल्याउँदा यो ठाउँमा आइसको ढिस्को बनेको होला! मेरो गाडीको अगाडीको टायर ढिस्कोमा उफ्रिदै गएर रोकिएको रहेछ।

बीचमा ढिस्को, अघि र पछिको टायरभित्र बाहिरको अवस्थामा गाडी रोकियो। गाडी न अघि जान्छ, न त पछि हट्छ। फेरि बाहिर एकदमै जाडो। त्यस्तै –२८ डिग्री सेल्सियस हुनुपर्छ। लेकमा चल्ने विनचिल (चिसो हावा) को कुरै नगरौं। फसादमा परियो। तर, मैले हिम्मत हारिन्।

गाडीबाट बाहिर निस्किएर टायर वरिपरिको हिउँ हटाउँदै गाडीलाई पछाडि निकाल्ने प्रयास गरे। सम्भव भएन्। टायरले आइसको तह भेट्टाएपछि स्लीप खाएर टायरमात्र फिनिनि घुमिरह्यो। अब भएन, के गर्ने–कसो गर्ने उपायको खोजी गरिरहेको बेला मनिषजीले आपतकालीन प्रहरी बोलाउने कि भन्ने सुझाव दिनुभयो।

त्यो अवस्थाभन्दा पहिले सक्दो उपाय र प्रयास गर्ने विचार आयो। मसँग भाग्यवस् केही स्ट्रयाप (एक प्रकारको मजबुत डोरी) रहेछन् गाडीमा। यसैको सहायताले मनिषजीको गाडीमार्फत पछाडि तान्ने प्रयास गर्‍याैं। दुवै गाडीका टायरले आइस भेटेपछि स्लिप खाएर यो प्रयास पनि असफल भयो।

फेरि पर्‍यो फसाद! के गर्ने, कसो गर्ने? परिवारका सदस्यमा एक किसिमको निरासा छाइसकेको थियो। म र मनीषजी जाडोले लगलग कामिरहेका थियौं। मनिषजीले गाडीलाई फ्रेस ठाउँमा ल्याएर प्रयास गर्ने कुरा गर्नुभयो। यो उपायले काम गर्‍यो। बल्ल आनन्दले श्वास फेर्‍यौं। दुवै परिवारका सदस्यमा खुसीको सञ्चार भयो, अब बाँचियो भनेर।

अब गाडीले आफ्नो दिशा ३ सय ६० डिग्रीको लियो। तालबाट निस्कने बाटो नियान्दै अघि बढ्यौं। अलि अगाडी पुगेपछि बाहिरिने बाटो देख्दा हर्षले ठाउँ छोडेको थियो। हामी ढिला नगरी त्यहीबाट बाहिरियौं। सायद बीच बाटोमा एक ठाउँमा चिया पिइयो होला। यसपछि सिधै घर पुगियो।

भोलिपल्ट दिउँसो म्यासेन्जरमा एउटा समाचारको लिङ्क आयो। पठाउने साथी उनै थिए, मनिष। दुईटा गाडी ओवामुन लेकमा फसेको समाचार थियो। झसंङ्ग भए। कतै आफ्नै समाचार त होइन्? मनले पहिल्यै अनुमान लगायो। तर, होइन रहेछ।

करिब दुई साताअघि त्यही लेकमा जमेको आईस ब्रेक भएर गाडी फसेको र पानीमा डुबेको समाचार रहेछ। मानवीय क्षति नभएपनि प्रहरीले उद्दार गरेको समाचारमा गाडी धनीलाई जरिवाना तोकिएको समाचार थियो। मुटु एक्कासी थरथरी काम्न थाल्यो।

यसले हामीलाई जाडो मौसममा लेकमाथि जमेको आईस र यसमा हुनसक्ने घटना र परिस्थितिको बारेमा खोजी गर्न बाध्य पार्‍याे। नतिजा निकै खतरनाक र डरलाग्दो आयो। हरेक वर्ष यसप्रकारका घटनाबाट ज्यान गुमाउने र अस्पताल भर्ना हुनेको संख्या ठूलो मात्रामा रहेछ क्यानडामा।

अल्बर्टामा मात्र सानाठूला गरी विगत १० वर्षको औषत दुर्घटना दर दर्जनमाथि रहेछ। अल्बर्टा र सस्काट्युन प्रान्तमा यसप्रकारका दुर्घटना तुलतान्मक रुपमा बढी हुँदा रहेछन्। जंगली जनावर पनि यस्तो आइसमा अड्किने रहेछन्। उद्दार गर्न जाँदा मानवीय क्षति भएका थुप्रै घटना रहेछन्। पूर्ण तथ्याङ्क नभेटिए पनि अल्बर्टामा यसै सिजनमात्र करिब दर्जन बढी दुर्घटना भइसकेको र केही मानिसले ज्यान गुमाएका रहेछन्। क्यानडामा अल्बर्टा राज्य सरकार, पार्क क्यानडाको ठूलै समस्या पो रहेछ यो।

यो तथ्याङ्क थाहा पाएपछि मलाई लाग्यो, हामीले ठूलो जोखिम मोलेका रहेछौं। आफ्नो मात्र होइन, परिवार गुमाउनसक्ने अवस्था आउने रहेछ। लेकमा जमेको आईसमा जानुअघि यसको परिस्थिति र आउनसक्ने चुनौतीलाई पूर्व अध्ययन र तयारी नगरी जानु महाभूल रहेछ।

हो, यो गल्ती हामीबाट पक्कै भएको हो। गल्तीबाट पाठ सिकियो। गल्तीको नतिजा जे पनि आउन सक्नेथियो।

धन्न छ भगवानलाई, आफ्नो रहर पुरा गर्ने लहडले ठूलै दुर्घटना हुनबाट जोगियौं। 



एक गुमनाम अभियन्ताको दुःखद निधन

'कल ब्वाय' बन्दाको अनुभव

प्रकाशित मिति: : 2021-05-05 08:57:00

प्रतिकृया दिनुहोस्