इतिहास लामै बोके पनि र अनुभव थुप्रै गरे पनि नेपाली चलचित्रले अपेक्षित फड्को मार्न नसकेको तथ्य कसैबाट छिपेको छैन। लोकेसनका हिसाबले नेपाल आफैँमा फिल्म स्टुडियो हो। ताजा र नौला विषयवस्तुको उर्भर खानी हो। तर पनि चलचित्रको अवस्था भने उस्तै दयनीय किन ?
छायांकन गर्ने ठाउँ आफ्नै देशमा छ, विषयवस्तु आफ्नै अगाडि छन्। तर पनि बलियो चलचित्रचाहिँ किन बनिरहेको छैन ? यो प्रश्नको जवाफमा फिल्ममेकर सहजै भन्छन्– हामीले थुप्रै गल्ती गरिसकेका छौँ, जसका कारण हामीले प्रगति गर्न सकेनौँ।
सुरुमै भारतीय चलचित्रलाई नेपाली रुपान्तरण गरेर पहिलो नेपाली चलचित्र बन्नु, भारतबाट निर्देशक, प्राविधिक तथा कलाकार झिकाएर चलचित्र बनाउनु, भारतीय चलचित्रको हुबहु नक्कल गरेर चलचित्र बनाउनु, कोलम्बो प्लानअन्तर्गत फिल्म पढ्न भारतीय कलेजसँग सम्झौता गर्नु, विश्वका चलेका चलचित्र हेरेर त्यसकै वरिपरि रहेर नेपाली चलचित्रको स्क्रिप्ट लेख्नु, विकास बोर्डले समयानुकूल चलचित्र ऐन निर्माण गर्न नसक्नु, चलचित्रलाई सरकारले फगत मनोरञ्जनको साधन मात्रै ठान्नु नै नेपाली चलचित्र उद्योगका मुख्य कमजोरी रहेको चलचित्रकर्मी बताउँछन्।