मजदुरको भान्सा फेरि चौरमा (भिडियो रिपोर्ट)

गत वर्षको लकडाउनमा मनकारीहरूको सहयोगले भोको पेट भरेका विपन्न मजदुर यसपटक पनि खुला आकाशमुनि

 

मंगलबार अपराह्न ३ नबज्दै मजदुर तथा विपन्नहरू थापाथली प्रसूतिगृहनजिकैको चौरमा जम्मा भइसकेका थिए। आकाशबाट पानी छिट्याउँदै थियो। केहीले चिसो भुइँमै पलेँटी कसेका थिए, केही कार्टुन र इँटा बिछ्याएर बसेका थिए। प्रतीक्षा बेलुकाको खानाको थियो । 

उनीहरू खाना ल्याउने मनकारीको बाटो कुरिरहेका थिए, तर आइपुगे प्रहरी। माइकिङ गर्दै अगाडि बढेका प्रहरी देखेपछि उनीहरू झस्किए, कतै लखेट्ने त होइन भनेर। त्यही भएर कहाँबाट आएका भन्दै प्रहरीले कडा लवजमा प्रश्न गर्दा उनीहरूको बोली फुट्न सकेन । 

कोरोना महामारीमा जोगिन सचेत गराएर प्रहरी फर्किए, मजदुरहरू ढुक्क भए। केहीबेरपछि ट्याक्सीमा प्याकिङ खाना लिएर आइपुगिन् इन्दिरा रानामगर। गत वर्षको लकडाउनमा खुलामञ्चमा मजदुरहरूको पेट भर्न सहयोग गर्नेमध्ये उनी पनि एक थिइन्। यसपालि पनि विभिन्न ठाउँमा समस्यामा परेकालाई उनले खाना वितरण गर्दै छिन्। सोमबारदेखि थापाथलीमा पनि सुरु गरेकी हुन् । 

ट्याक्सीबाट झरेलगत्तै उनले उपस्थितलाई सम्बोधन गरिन्, ‘हामी कोही भोको बस्नु नपरोस् भनेर काम गरिरहेका छौँ। तर, दुई भाग उठाउने पनि भेटिएका छन् ।’ इन्दिराले यसो भन्दै गर्दा एक व्यक्तिले सबैको तर्फबाट वाचा गरे, ‘यहाँ त्यस्तो हुँदैन आमा ।’ सायद खाना खुवाउने कार्यक्रम नै बन्द होला कि भन्ने चिन्ता उनको मनमा पसेको थियो ।

प्रकाशित मिति: : 2021-05-05 07:25:00

प्रतिकृया दिनुहोस्