गोरखा भूकम्पका छ वर्ष : पुरातात्विक महत्वका ४९३ सम्पदा पुनःनिर्माण

Photo - RSS
Photo - RSS

गोरखा भूकम्पको छ वर्षको अवधिमा भूकम्पले भत्किएका पुरातात्विक महत्वका ४९३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ।

भूकम्प प्रभावित ३२ जिल्लाका ९२० सम्पदामा विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जनाएको छ।

क्षतिग्रस्त २८८ सम्पदा पुनः निर्माणको चरणमा रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए। यी सम्पदाको पुनःनिर्माण चालु आर्थिक वर्षमै शुरु गर्ने तयारी छ। तीमध्ये केही सम्पदाको पुनःनिर्माण शुरु भइसकेको छ।

भूकम्पले विश्व सम्पदा क्षेत्रका १७०, काठमाडौँ उपत्यकाका तीन जिल्लाका ४०६ र उपत्यकाबाहिरका २९  जिल्लाका ३४४ गरी ९२० सम्पदामा क्षति पुगेको थियो।

हालसम्म विश्व सम्पदा क्षेत्रका ११०, काठमाडौँ उपत्यकाका तीन जिल्लाका २०७ र उपत्यकाबाहिरका २९ जिल्लाका १७६ गरी ४९३ सम्पदाको पुनः निर्माण सम्पन्न भएको हो।

चालु आवमा विश्व सम्पदा क्षेत्रका ४९, काठमाडौँ उपत्यकाका तीन जिल्लाका १११ र उपत्यकाबाहिरका २९ जिल्लाका १२८ गरी २८८ सम्पदा पुनः निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ।

भूकम्पले क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहरालाई जस्ताको त्यस्तै राखी उस्तै आकार र प्रकारमा धरहरा टावर निर्माण सम्पन्न भई गत फागुन ११ गते उद्घाटन गरिएको छ।

यसैगरी भूकम्पले क्षतिग्रस्त राजधानीको मुटुमा रहेको रानीपोखरी पनि गत वर्ष दशैँअघि नै निर्माण सम्पन्न गरी उद्घाटन गरिएको छ । काष्ठमण्डप पनि पुनः निर्माणको अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ।

भूकम्पले भत्किएका सम्पदा अझ राम्रो र बलियो बनाऔँ भन्ने अवधारणाको अवलम्बन गरी पुनःनिर्माण अघि बढेको प्राधिकरणले जनाएको छ। विपद् प्रतिरोधक हुने गरी स्थानीय आवश्यकताअनुरूप उपयुक्त प्रविधि अपनाई जीर्णोद्धार, प्रबलीकरण र पुनःनिर्माण गरिएको सहप्रवक्ता घिमिरेले बताए।रासस

प्रकाशित मिति: : 2021-05-04 16:17:00

प्रतिकृया दिनुहोस्