डाक्टर पुरुषोत्तम : जो आफू ढल्दा–ढल्दै दिन–रात संक्रमितको उपचारमा खटिन्छन्

बाह्रखरी

काठमाडौँ

 केशवराज जोशी

बाँके अर्थात् कोरोना ‘हब’का रुपमा यति बेला परिचित छ । संक्रमण र मृत्युदर बढ्दो छ । अक्सिजन, आईसीयूलगायत अभाव छ । बाँकेमै छ, नेपालगन्ज मेडिकल कलेज ।

केही दिनअघि पीपीई सेटसहित कुर्सीमा बसेर आफ्नै हातमा ‘इन्जेक्सन’ दिएर काम गरिरहेका एक चिकित्सकको तस्बिर सार्वजनिक भयो । देब्रे हातमा क्यानुला जडान गरेर स्ट्यान्डमा झुन्ड्याइएको बोतलमार्फत स्लाइन पानी चढिरहेको त्यो तस्बिरले धेरैको ध्यान तानेको छ ।

कोरोना महामारीमा आफ्नै स्वास्थ्य जोखिममा पर्दा समेत सेवामा तल्लिन ती चिकित्सक थिए, नेपालगन्ज मेडिकल कलेजका मेडिकल अफिसर डा. पुरुषोत्तम बर्मा । उनी मेडिकल कलेजको कोरोना वार्डमा कार्यरत छन् ।

टेबुलमा बिरामीको रेकर्ड फाइल हेर्दै गरेका उनको तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । तर, नियोजित रुपमा भने त्यो तस्बिर नखिचिएको डा. बर्मा बताउँछन् । बर्मासँगै काम गर्ने तीनजना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भइसकेको थियो । यस्तोमा बर्मामा जिम्मेवारी थपियो ।

उनी भन्छन्, “२४ सै घण्टा पनि ड्युटी गर्दै आएका छौँ । एक चिकित्सक भइसकेपछि बिरामी देख्दा–देख्दै आराम गर्न मन लाग्दैन । यो महामारीविरुद्धको लडाईं हामीले जसरी पनि जित्नैपर्छ ।”

कोरोना संक्रमितको उपचारमा खटिएकै बेला उनको स्वास्थ्यमा समस्या आयो । पेट दुख्ने, झाडापखला लाग्ने समस्या भएपछि शरीर निकै गल्योे । उनी भन्छन्, “अस्पतालमा उपचारको पर्खाइमा रहेका कोरोना संक्रमितलाई छाडेर आराम गर्न मनले मानेन । मलाई पनि कोरोनासँग मिल्दो–जुल्दो पूरै लक्षण देखियो । आफ्नोभन्दा अरुको जीवन बचाउँदा आनन्द ठूलो हुन्छ । त्यसैले केही खप्न नसकेपछि मैले आफैँ सिस्टरलाई इन्जेक्सन लगाउन भनेको हुँ ।”

प्रकाशित मिति: : 2021-05-04 12:54:00

प्रतिकृया दिनुहोस्