नारायण अधिकारी
अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ। रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो। लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ।
नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार आजदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट ९३० वटाको० रु ३७० र मिडियमको रु ३४० पुगेको छ।
यसअघिको मूल्यमा प्रतिक्रेट रु ३० वृद्धि गरिएको हो। ओलीको भनाइमा चार वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट रु ३६५ पुगेको थियो। यसै वर्ष दुई महिनाअघि पनि प्रतिक्रेट अण्डाको मूल्य रु ३६० पुगेकामा केही दिनपछि घटेको थियो।
एच ९ र रानीखेत रोगका कारण झण्डै २५ प्रतिशत कुखुरा मरेको किसान बताउँछन्। ओलीका अनुसार दैनिक २४ लाख अण्डा उत्पादन हुँदै आएकामा रोगका कारण घटेर १७ लाख हाराहारीमा झरेको छ। अण्डाको उत्पादनमा कमी आएका कारण मूल्य बढ्दासमेत लाभान्वित हुन नसकेको उनको भनाइ छ।
सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले सरकारले अण्डाको लागत मूल्य रु ११.५३ तय गरे पनि हाल लागत मूल्य बढेका कारण रु १२.३३ हाराहारी अर्थात् अहिलेको वृद्धि मूल्य बराबर पर्न जाने बताउँछन्। दानाको कच्चापदार्थको मूल्य अत्यधिक बढेपछि अण्डाको मूल्य बढेर पनि लाभ लिने अवस्थामा किसान नरहेको केसीको भनाइ छ।
नेपाल दाना उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शङ्कर कँडेल यसअघि प्रतिकिलो रु ६४ मा आउने सामान्य भटमासको मूल्य बढेर रु १०८ पुगेको छ।
त्यसैगरी हाइप्रो भटमास प्रतिकेजी रु ७० बाट बढेर रु ११५ पुगेको छ। तोरी, सूर्यमुखीलगायतको पिना प्रतिकिलो रु सातले बढेको भन्दै उनले दानामा प्रयोग गरिने भिटामिनलगायतका सामग्रीमा शत्प्रतिशतसम्म मूल्य बढेको जानकारी दिए।
यससँगै ढुवानीमा समेत मूल्य बढेको कँडेलको भनाइ छ। लागत मूल्यका आधारमा दानाको मूल्य धेरै बढ्ने भए पनि किसानले धान्न मुस्किल हुने भएकाले पटक पटक गरी रु सात प्रतिकिलो मात्रै मूल्य बढेको उनको भनाइ छ। हाल लेयर्स दानाको मूल्य सरदर रु ६० प्रतिकिलो पर्न आउँछ।
देशको गार्हस्थ्य उत्पादनको एक प्रतिशत अण्डाले मात्रै थेग्ने दाबी गर्दै उनले मूल्य नपाएकै कारण धेरै किसान विस्थापित भएको बताए। नेपालमा दुई हजार ७०० किसानले लेयर्स कुखुरा पाल्दै आएका छन्।
यी फार्ममा दुई लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको व्यवसायी बताउँछन्। नेपालमा कुखुरापालन क्षेत्रमा रु एक खर्ब २५ अर्बभन्दा बढी लगानी भएको व्यवसायीहरुको भनाइ छ।रासस
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया