जहाँ २० रुपैयाँमा पाइन्छ पेटभरी खाना

नारायण खड्का

अहिले विश्व कोभिड-१९ को महामारीले आक्रान्त छ। यो महामारीबाट नेपाल पनि अछुतो रहन सकेको छैन।

कोरोनाभाइरसको महामारी रोक्न सरकारले २०७६ चैत ११ गतेदेखि नेपालमा लकडाउन गर्‍यो। यातायात, उद्योग, कल-कारखाना, बजार, होटल सबै बन्द भए। अवस्था यस्तो आयो कि अस्पतालका बिरामी, कुरुवा र डाक्टर-नर्सलगायत कर्मचारीले पनि खाना खान नपाउने भए।

दिनभरि मजदुरी गरेर साँझ-बिहानको छाक टार्नेलाई त ज्यान जोगाउनै हम्मे भयो। 

पश्चिम नेपालकै एक प्रमुख व्यापारिक केन्द्र नेपालगञ्जले पनि ती सबै सकस झेल्यो। त्यसमाथि भारतसँगको जमुनाहा नाकाबाट  नेपाल फर्किने हजारौंलाई पनि नेपालगञ्जले भरथेक गर्नुपर्थ्यो। 

मानिसहरूले एक छाक खाना पनि नपाउने अवस्था देखेपछि नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले स्थानीय ‘हनुमान भजन मण्डली’को टिमसँग सल्लाह गरे। उपमहानगरपालिकाको कार्यालयनजिकै हनुमान गढी मन्दिर छ। त्यहाँ भण्डरा टिम थियो। ‘अञ्जली माता’को नाममा उनीहरूले भण्डरा चलाउँथे। 

मण्डलीका संरक्षक विजय गुप्तालगायतलाई भेटेर मेयर राणाले भने- तपाईंहरू यो विपदका बेला अप्ठेरोमा परेकालाई सहुलियतमा खाना खुवाउनुस्, म उपमहानगरपालिकाको तर्फबाट मासिक सहयोग गर्छु।

मेयरको कुरा भजन मण्डलीलाई गज्जब लाग्यो। उनीहरू ‘विपदमा परेकालाई सेवा गर्नु नै सबैभन्दा ठूलो मानवीय धर्म हो’ भन्ने निष्कर्षमा पुगे।

प्रकाशित मिति: : 2021-05-04 09:52:00

प्रतिकृया दिनुहोस्