'थौं छंगु बाखं छ्या मवल?'
तिम्रो कथा आज किन आएन?
'छौं म्ह मफू?'
तिमी बिरामी त परेनौ?
अघिल्लो लकडाउनमै शान्तराज शाक्यले आफ्नो परिचय कथावाचकका रूपमा बनाइसकेका थिए। ६६ वर्षीय उनी पाटनस्थित नःटोलको घरबाट लोक कथा र सांस्कृतिक कथाहरू फेसबुकमा पढेर सुनाउँथे।
ती कथामा दृश्य हुन्थेनन्। तर जुन ओज र भावले उनी कथा भन्थे, त्यसले मान्छेलाई तान्थ्यो। बिहानको नित्यकर्म सकेर फेसबुकमार्फत कथा हाल्ने समय उनले बनाएका थिए, सात बजे।
मान्छेहरू चियाको चुस्की लिँदै, कोही खाटमै ढलिमुली गर्दै उनका कथा सुन्दा हुन्! झन् उनीजस्तै पाका उमेरका साथीहरूलाई त्यसरी कथा सुन्ने बानी नै परिसकेको थियो।
त्यसैले कहिलेकाहीँ ७ बजेबाट थोरै मात्र समय घर्कियो भने पनि उनलाई फोन वा मेसेन्जरबाट सोधपुछ भइहाल्थ्यो, 'थौं छंगु बाखं छ्या मवल?'