लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु, मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव बारे छलफल हुँदै

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरू हुँदैछ।

अधिवेशनमा प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बारे छलफल हुनेछ।

गत वैशाख पहिलो साता नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता गरेका थिए। त्यसलगत्तै मुख्यमन्त्री पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

दिउँसो १ बजे सुरु हुने अधिवेशनमा सत्ता पक्ष र विपक्षी दलका सांसदहरुले अविश्वास प्रस्तावमाथि आ–आफ्ना धारणा राख्नेछन्। 

अधिवेशनको दोस्रो दिन सोमबार (भोली) मुख्यमन्त्री पोखरेलले छलफलमा उठेका विषयमाथि आफ्नो भनाइ राख्ने कार्यक्रम छ। उनले बोलेपछि अविश्वास प्रस्तावमाथि मतदान हुनेछ।

विपक्षी दलहरुले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरेका छन्। 

लुम्बिनी प्रदेशमा कुल ८७ जना सांसद छन्। जसमध्ये प्रदेश सभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सदस्य छन्।

प्रदेश सरकार सञ्चालनका लागि ४४ जना सांसद आवश्यक पर्छ।

प्रकाशित मिति: : 2021-05-02 08:58:00

प्रतिकृया दिनुहोस्