नेपाल एसोसिएसन युएईको घुम्ती शिविर सम्पन्न 

नेपाल एसोसिएसन युएईले नेपाली दूतावाससँगको समन्वयमा डेढ महिना अघि शुरु गरेको पहिलो चरणको राहदानी नविकरण घुम्ती शिविर समापन गरेको छ।

एसोसिएसनले गएको मार्च १२ तारिखदेखि युएईका सातै राज्यमा सित्तैमा एमआरपी फारम भरिदिने, फोटो खिच्ने, प्रिन्ट गर्ने, दूतावासमा फारम बुझाउनेदेखि लिएर शैक्षिक प्रमाणपत्र, विवाह दर्ता लगायत श्रमका अन्य कागजातहरु दर्ता तथा प्रमाणिकरणका लागि निशुल्क घुम्ती शिविर सञ्चालन गरेको थियो।

युएईमा कोभिड १९ सम्बन्धि सुरक्षा र सावधानी तथा अबुधाबी प्रवेशमा गरिएको कडाईका कारण अन्य राज्यमा रहेका नेपालीहरुलाई दूतावाससम्म पुग्न कठिनाई भईरहेको बेला एसोसिएसनले घुम्ती शिविर सञ्चालन गरेको थियो।

स्थानीय प्रशासनको अनुमती लिएर सञ्चालित शिविरमा ६ सय भन्दा बढी नेपालीले राहदानी नविकरण सम्बन्धि सेवा लिएको एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले बताए। 

विभिन्न राज्यबाट दूतावाससम्म पुग्दा लाग्ने खर्च, पिसिआर परिक्षण खर्च, पुनः राहदानी लिन जाँदा लाग्ने खर्चहरु जोड्दा नेपाली श्रमिकहरुको करिब ४० हजार दिराम बराबरको खर्च जोगिएको अध्यक्ष श्रेष्ठको भनाई छ।

उनले शिविर सञ्चालनमा खट्ने एसोसिएसनका महासचिव नरेश सेन , बिओडी सदस्यहरु कल्पना राई, कृष्ण पौडेल, नवीन पौडेल, कृष्ण ठाकुरसहित स्वयंसेवकहरु भिम मल्ल, मन्जु मल्ल, कुमार लम्साल, कृष, राम तामाङ लगायतलाई धन्यवाद व्यक्त गरेका छन्।

एसोसिएसनले अबदेखि  बरदुबईस्थित एसोसिएसनको केन्द्रीय कार्यालयबाट हरेक पहिलो र तेस्रो शुक्रबार श्रम सम्बन्धि सेवा दिने र हरेक दोस्रो र चौथो शुक्रबार राहदानी नविकरण सम्बन्धि सेवा दिने बताईएको छ।

प्रकाशित मिति: : 2021-05-01 10:29:00

प्रतिकृया दिनुहोस्