दिनेश गौतम
पशुपतिको विद्युतीय शव दाहगृह । केही बेरअघिसम्म सन्नाटा थियो । मध्याह्न .१२ बजे साइरन बजाउँदै नेपाली सेनाको गाडी आइपुग्यो । अनि एकाएक कोलाहल सुरु भयो । सेनाको टोलीले पालैपालो गाडीबाट पहेँलो पीपीईभित्र राखिएका दुइटा शव झिकेर गेट नजिकै ल्यायाे ।
‘गेट भित्रप्रवेश नगर्नुहोला’, नेपाली सेनाका एक जवानले अनुरोध गरे । उनको अनुरोधले भित्र प्रवेश गर्न लागेकी एक महिलाको पाइला गेटबाहिरै रोकियो । ‘बा, किन छोडेर गएको ? एक पटक मुख हेर्न पाए नि हुन्थो’, बराम्बार उनी आलाप गर्दै थिइन् ।
‘अब भित्रि मनबाट हेर्नुहोस्’, गेटभित्रबाट आएको जवाफले अन्तिमपटक बा’को मुख हेर्ने धोको ती महिलाको पूरा भएन । गेट बाहिरैबाट अगरवत्ती जलाएर उनले बामाथि फूलमाला अर्पिइन् । पालैपालो परिवारका अन्य सदस्यले पनि टाढैबाट श्रद्धाञ्जली दिए ।
गेटबाहिरै बज्यो एकोहोरो शङ्ख ।
एउटा शवलाई परिवारले श्रद्धाञ्जली दिएपछि अर्को शवको पालो आयो । पछाडि कालो झोला भिरेका एक युवा गेटनजिकै पुगे । उनले पनि बाहिरबाटै एउटा माला अर्पिए । झोलाबाट रामराम लेखेको रुमाल झिकेर मरेका बा’को छातीमा राखिदिए । टीठलाग्दो अनुहार बनाएका ती युवाले खल्तीबाट मोबाइल झिकेर बा’को अन्तिम तस्वीर लिए । उनले फाेटाे खिचेलगत्तै सेनाको टोलीले शव उठाइहाल्याे ।