रुकुम पूर्वमा धमाधम परीक्षा सञ्चालन

बिएल संवाददाता

रुकुम-पूर्व

कोरोना महामारीका बीच रुकुम (पूर्व) का विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ।

जिल्लाको सिस्ने गाउँपालिकाका विद्यालयमा बिहीबारदेखि कक्षा १० को परीक्षा शुरु गरिएको हो। कक्षा १० सम्म पठनपाठन सञ्चालन हुने गरेका ९ वडाका सामुदायिक र संस्थागत विद्यालयमा परीक्षा शुरु भएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख मंगलसिंह बुढाले जानकारी दिए।

सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन भइरहेको उनले बताए। यस्तै गाउँपालिकाका अन्य विद्यालयमा भने कक्षा १ देखि ९ सम्मको परीक्षा यही वैशाखको २२ गतेदेखि शुरु गरिने शिक्षा शाखा प्रमुख बुढाले बताए।

यस्तै भूमे गाउँपलिकाले पनि वैशाखको १९ गतेदेखि परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। कक्षा ८ बाहेक १ देखि १० कक्षासम्मको परीक्षा १९ गतेदेखि शुरु गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख कौशलकुमार तीवारीले जानकारी दिए।

गाउँ शिक्षा समितिका संयोजक एवम् भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरको अध्यक्षतामा बसेको प्रधानाध्यापकहरूको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

यस्तै भूमे गाउँपालिका भित्रका विद्यालयमा कक्षा ८ को परीक्षा भने वैशाख २२ गतेदेखि शुरु गरिने शिक्षा शाखा प्रमुख तीवारीले बताए।

यसअघि गाउँपालिकाले वार्षिक परीक्षा वैशाख २६ गतेदेखि शुरु गर्ने निर्णय गरेको तर पछिल्लो समय कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै छिटोछरितो सक्ने भनेर परीक्षाको मिति अघि सारिएको उनले बताए।

यस्तै पुथाउत्तरगङ्गा गाउँपालिकाले यही वैशाखको २० गतेदेखि वार्षिक परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। गाउँपालिकाले कक्षा १ देखि १० सम्मको परीक्षा शुरु गर्ने तयारी गरेको गाउँपालिकाका १२ नम्बर वडाध्यक्ष गङ्गाबहादुर पुनले जानकारी दिए।

जिल्लामा अहिलेसम्म कोरोनाका बिरामी खासै नदेखिएको र शैक्षिक सत्र पनि सकिएकाले स्वास्थ्य मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गर्नु भनेर गाउँपालिकाहरूले गरेको निर्णयमा रोकतोक नलगाएको शिक्षा विकास तथा समन्वय एकाई प्रमुख तिलक गौतमले बताए। रासस

प्रकाशित मिति: : 2021-04-30 09:01:00

प्रतिकृया दिनुहोस्