अरून्धती रायकाे लेख : भारतमा हामी महामारीको होइन, मानवताविरुद्ध अपराधको साक्षी भइरहेका छौँ

शिलापत्र

काठमाडाैं

सन् २०१७ मा उत्तर प्रदेशको चुनावीसभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षीको नेतृत्वमा रहेको प्रदेश सरकारको उछितो काडिरहेका थिए । मञ्चबाट उनको आरोप थियो– उत्तर प्रदेश सरकारले मुस्लिमलाई बढी प्राथमिकता दियो । मोदी गर्जिएका थिए, 'यदि कब्रिस्तान बनाइन्छ भने घाट पनि बन्नुपर्छ ।'

घाट, घाट, घाट, मोदीको सभामा आएकाहरूले स्वर थपे । अहिले कब्रिस्तान र घाटका हृदयविदारक तस्वीर अन्तर्राष्ट्रिय मिडियामा छापिएका छन् । शायद, यी तस्वीर देखेर मोदी खुसी भइरहेका होलान, किनकि कब्रिस्तान र घाटको अनुपात अहिले मिलेको छ, दुवै  भरिभराउ छन् । तिनीहरूको उपयोग क्षमताभन्दा बढी भइरहेको छ ।

'के १ अर्ब ३० करोड भारतीय जनता एकान्तबासमा रहन सक्लान् ?,' भारतमा फैलिइरहेको कोरोना महामारीबारे वासिङ्टन पोस्टले आफ्नो सम्पादकीयमा प्रश्न उठाएको छ  । सम्पादकीयमा उत्तर पनि छ- 'यो सहज छैन ।'

हाम्रा प्रधानमन्त्री मोदीले गत जनवरीमा विश्व आर्थिक मञ्चमा दिएको अभिव्यक्तिका आधारमा सायद यो प्रश्न उठाइएको हुनुपर्छ, वासिङ्टन पोस्टले तेर्स्याएको प्रश्नले अलिकति अपमानित महसुस गर्ने अधिकार हामीलाई छ ।

युरोप र अमेरिका कोरोनाको दोस्रो लहरबाट आक्रान्त बनेको समयमा सम्मेलनमा सम्बोधन गरेका मोदीले सहानुभूतिका एक शब्द पनि खर्चिएनन् । उनले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भारतको तयारी र पूर्वाधार विकासबारे बेलीविस्तार लगाउँदा घमण्ड प्रतिबिम्बित भइरहेको थियो । स्थिति भयावह बनेपछि आफ्ना सम्बोधनलाई मोदीले हटाउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै मैले उनको भाषण सुरक्षित राखेकी थिएँ ।

मोदीले भनेका थिए, 'यो विषम परिस्थितिमा भारतीय जनताको तर्फबाट मैले सकारात्मक र आत्मविश्वासिलो सन्देश लिएर आएको छु । कोरोनाबाट सबैभन्दा बढी भारत प्रताडित हुन्छ भन्ने गरिएको थियो । ७० करोडदेखि ८० करोड भारतीय कोरोनाबाट संक्रमित हुने र २० लाख मानिस मर्ने प्रक्षेपण गरिएको थियो । कोरोना नियन्त्रणमा अरु देशसँग भारतको तुलनै हुन सक्दैन । विश्वकै १८ प्रतिशत जनसंख्या बसोबास गर्ने भारतले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चालेकै कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ ।'

प्रकाशित मिति: : 2021-04-29 19:18:00

प्रतिकृया दिनुहोस्