प्रहरी ‘इन्काउटर’को सूचीमा रहेका मनाङे तेस्रो पटक मन्त्री बने

डिल्ली पाण्डे

काठमाडाैं

करिब दुई दशकअघि काठमाडौंको ठमेल क्षेत्रलाई आफ्नो मुठ्ठीमा लिएर एकछत्त राज गरेका ‘डन’ (राजिव गुरूङ) दीपक मनाङेका लागि प्रहरी–हिरासत कुनै नौलो कुरा थिएन। ‘डन’ मनाङे नेपालमा गुण्डागर्दीका गुरु भएको प्रहरीको बुझाइ छ। 

मनाङेका ‘चेला डन’हरुले काठमाडौं मात्रै हैन, देशैभरिका व्यवसायीलाई धम्काउदै हप्ता असुलीदेखि सम्पत्ति कब्जा गर्ने कामहरु गरे। उनैका गुरु मनाङे शनिबार तेस्राे पटक मन्त्री  बनेका छन्। उनले  शनिबारै सपथग्रहणसमेत गरिसकेका छन्। यसअघि उनी युवा तथा खेलकुद मन्त्री बनेका  थिए।



मनाङेले भनेः 'विश्वासको मत त्यो मान्छेलाई चाहिन्छ, जसले सरकार बचाउछ'

‘दिपक मनाङे’ भन्छन्ः मन्त्री हुनै मन थिएन, ट्रयापमा पारे



त्यसो त कुनै बेला हातमा हत्कडी लगाएर पछाडिबाट लात्ताले हान्दै खोरमा लैजाने प्रहरी अहिले उनै मनाङेलाई ‘माननीय’ भन्दै स्यालुट गर्दै आएका छन्। ‘गुण्डा नाइके’ मनाङेको पहिचान पनि बदलिएर ‘माननीय राजीव गुरुङ’ भएको छ।

जति बेला ठमेल क्षेत्रमा मनाङेको ‘राज’ थियो, त्यस बेला उनी जब एक हुल केटा लिएर ठमेल छिर्थे, त्यसपछिको माहोल नै फेरिन्थ्यो। ०६४-६५ सालसम्म प्रहरी हिरासतमा जानु र छुट्नु उनको दिनचर्याजस्तै थियो। 

नेपालमा गुण्डाविरुद्ध ‘प्रहरी इन्काउटर’ सुरु गर्दा मनाङे प्रहरीको ‘इन्काउटर सूची’ को पहिलो नम्बरमा थिए। प्रहरी उनलाई ‘इन्काउटर’ गर्ने मौकाको खोजीमा थियो। मनाङेले प्रहरीको त्यो ‘रणनीति’ लाई प्रष्ट बुझेका थिए। र, सावधानी अपनाउँदै आफूलाई जोगाउँदै आए। 
प्रहरीबाट जोगिन मनाङेले यतिसम्म ‘हरकद’ गर्थे जुन कुरा सुन्दा सबैलाई चकित तुल्याउँछ। 

प्रहरीका एक उच्च अधिकारीले बताए अनुसार, मनाङेको काठमाडौंमा खोजी हुँदै थियो। प्रहरीले उनको मोबाईल ट्यापिङमा राखेको थियो। प्रहरीभन्दा चतुर थिए–मनाङे। उनले काठमाडौंबाट काँकाडभिट्टा जाने नाइट बसमा मोबाइल पठाइदिए। अनि आफू भने काठमाडौंमै मस्तसँग सुते। 
प्रहरीलाई लाग्यो– उनी काँकाडभिट्टा पुगिसके। काठमाडौं प्रहरीले त्यहाँको प्रहरीलाई खबर गर्यो। जब गाडी उता पुग्यो, प्रहरीले जाँच ग¥यो। गाडीमा मनाङे थिएनन्, उनको मनाङेको मोबाइल फोन मात्र भेटियो।

हेलिकोप्टरबाट भागेकी दक्षिण एसियाकै खुंखार अपराधी काइँली नेपाल प्रहरीको फन्दामा 

फेसबुकले झण्डै ‘डिभोर्स’ गरायो

दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ मनाङ ‘ख’ बाट गण्डकी प्रदेशसभा सदस्य निर्वाचित भए– ०७४ सालको संसदीय चुनावमा। २०७४ सालको मंसिर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा उनी उठेको क्षेत्रबाट एमालेले उम्मेद्वारी दिएन। एमाले र माओवादी सम्मिलित ‘वाम गठबन्धन’ ले उनलाई समर्थन गर्यो, अनि चुनाव जितेका थिए। 

मनाङे ०७५ सालमा सपथग्रहणलगत्तै मन्त्री बन्न चाहन्थे। त्यसका लागि उनी एमाले प्रवेश पनि गरे तर मुख्यमन्त्री गुरुङले उनलाई मन्त्री बनाएनन्। कांग्रेस, माओवादीकेन्द्र र जनता समाजवादी पार्टी मिलेर हालसालै पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि मनाङेको भाउ बढ्यो प्रदेशसभाभित्र चलेको सत्ताको खेललाई उपयोग गरी मनाङे प्रदेशको युवा तथा खेलकुद मन्त्री बन्न सफल भए। फेरी सत्ताको खेल भयो, दोस्रो पटक उनले गुरुङको सत्ता ढालीदिए। उनैको सर्मथन नपाएर गुरुङको सरकार ढल्यो। उनले बिपक्षीलाई सर्मथन गरे,जसका कारण सरकार बन्यो र उनी विना विभागीय मन्त्री भए। 

मनाङको प्रदेश ख, बाट प्रदेश सभामा एक हजार चार सय १० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा विजयी भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका कर्म गुरुङले एक हजार २० मत ल्याएका थिए। 

चुनावमा जितेपछि पनि मनाङेले अरु प्रदेशसभा सदस्यसँग उनले शपथ लिन पाएनन्। सपथका बेला उनलाई प्रहरीले धुइँपात्तल खोजिरहेको थियो। उनलाई ज्यान मार्ने उद्योगसम्बन्धी अभियोगमा २०७५ बैशाख ६ गते प्रहरीले पक्राउ गरेको थियो। २०६१ पुस ११ गते अर्का ‘गुण्डा–नाइके’ (डन) चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको अभियोग राजीव गुरुङ उर्फ मनाङेमाथि थियो। 

१० वर्षभन्दा कम सजाय हुने मुद्दा बाहिर बसेरै लड्न मिल्ने कानून व्यवस्था अनुसार २०७५ पुस ६ गते उनी छुटेका थिए। त्यसपछि उनलाई ०७५ माघ १४ प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा सदस्यको शपथ दिलाएका थिए। 

पुनरावेदन अदालत, पाटनले २०६९ मा उनलाई पाँच वर्ष जेल सजाय तोकेको थियो। त्यति बेला फरार उनले पछि मुद्दा ब्युँतिएका कारण शपथ खान पाएका थिएनन्।

तत्कालीन पुनरावेदन अदालतको सजाय सच्च्याउन उनले सर्वाेच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए तर पुनरावेदनकै सजायलाई सर्वाेच्च अदालतले ०७४ माघमा सदर गरेपछि उनी भूमिगत भएका थिए। 

प्रहरीले त्यसपछि उनलाई चारैतिर खोज्यो। पक्राउ गर्नकै लागि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) कोदेखि अपराध महाशाखाको टोलीले खोजी गरेको थियो। उनी प्रहरीलाई छक्याउँदै काठमाडौंदेखि भारतको सिक्किमसम्म लुकेर बसे। अन्नतः काठमाडौं प्रहरीले उनलाई काठमाडौंको स्वयम्भुबाट ०७५ वैशाख ७ मा पक्राउ गरेको थियो। 

नयाँ फौजदारी संहिता अनुसार, १० वर्षभन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने व्यवस्थाबमोजिम  मनाङे जेलबाट छुटेका थिए।प्रदेशसभाको अर्थ तथा विकास समिति सदस्य समेत बनेका राजीवले २०७७ असोज ८ गते उक्त समितिबाट राजीनामा गरेका थिए। 

मनाङे सुरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग निकट थिए। त्यसपछि उनी कांग्रेससमेत भएका थिए। अन्ततः गुरुङ २०७४ असोजमा एकाएक एमाले प्रवेश गरे राजनीतिक महत्वाकांक्षासाथ। तर, एमालेबाट टिकट पाएनन्।

उनी ०७४ सालको चुनावमा स्वतन्त्र हैसियतमा उम्मेदवार बने। आफूले जित्न नसक्ने आँकलन गरेको एमालेले मनाङेलाई समर्थन गर्यो। एमालेको भागमा परेको उक्त क्षेत्रमा वाम गठबन्धनको अर्को पार्टी– माओवादी केन्द्रले पनि समर्थन गर्ने नै भयो , अनि चुनाव जिते।
 

प्रकाशित मिति: : 2021-06-12 22:25:00

प्रतिकृया दिनुहोस्