मनाङेले भनेः 'विश्वासको मत त्यो मान्छेलाई चाहिन्छ, जसले सरकार बचाउछ'

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ)ले एमाले कै ३० प्रतिशत सांसदहरूले प्रदेशसभा जोगाउन आग्रह गरेपछि मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङलाई विश्वासको मन नदिएको बताएका छन्।

कास्कीकाे लेकसाइड पुगेका उनले मुख्यमन्त्री गुरुङको प्रदेशसभा विघटन गर्ने मनसाय बुझेपछि आफू सिस्टम बचाउन लागेको उनको भनाइ छ। जनताले मत दिएर जिताएपछि पाँच वर्षको कार्यकाल पूरा गर्न पाउनुपर्ने उनले बताए।

सरकारमा गएर आफूले दुईचोटी सहयोग गरेपनि यसपटक चाहीँ जनताको पक्षमा उभिएको मनाङेले बताएका छन्। एक महिनादेखि संसद भंग गर्न डिजाइन गर्ने मुख्यमन्त्रीलाई विश्वासको मत दिने कुनै आधार नभएको मन्त्री मनाङेले बताए। 

‘मुख्यमन्त्री विश्वासको मत लिन किन गइरहेका छन्। सांसदले पाँच वर्षे कार्यकाल पूरा गर्न नपाउने, मन्त्रीले सही निर्णय गर्न नपाउने,’ उनले प्रश्न गरे, ‘विश्वासको मत त्यो मान्छेलाई चाहिन्छ, जसले सरकार बचाउछ। राज्यको लागि राम्रो काम गर्छ। यीनीहरू त आफै सरकार ढाल्न लागेका छन्।’ 

विपक्षीलाई सहयोग गर्ने समेत उनले जनाएका छन्। ‘विश्वासको मत जरुरी छैन विपछीको बहुमत पुगे म उतै जान्छु’, उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओली समूहका २६ जना प्रदेश सांसदलाई अब जनताले भोट दिन नहुने उनको तर्क छ।

मनाङेले भने, ‘उनीहरुलाई एक भोट पनि दिनु हुँदैन, पैसाको लागि मरिहत्य गर्ने, भोलिका दिनमा उनीहरुले जिते भने राज्य डुबाउँछन्।’

प्रधानमन्त्री ओली समूहका २७ जना प्रदेशसभा सांसदहरूलाई देशद्रोहीकाे मुद्दा लाउनुपर्ने बताएका छन्। ‘जानी–जानी संसद भंग गर्नेहरूलाई मुद्दा लगाउनुपर्छ’, उनले भने।

प्रकाशित मिति: : 2021-06-10 22:05:00

प्रतिकृया दिनुहोस्