मरेपछि सम्मान दिएको रे : लासमा पार्टीको झण्डा ओढाउँछन्, मसानघाटमा लगेर फहराउँछन्

शिलापत्र

काठमाडौं

बझाङको खप्तड छान्ना गाउँपालिकाका–५ मतुवाका भरतबहादुर सिंहको १ वैशाखमा मृत्यु भयो । पोस्टमार्टम गरी सदरमुकाम चैनपुरबाट फर्काउँदा उनकाे शव एमालेकाे झण्डाले छाेपिएकाे थियाे । ‘पार्टीलाई योगदान गरेको अभिभावका रूपमा दलले सम्मान गरेकाे हाे । बुवाको शव जलाइसकेपछि मसानघाटमा झण्डा टाँगेर फर्कियौँ’, छोरा विजयकुमार सिंहले भने ।  

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ का बिर्जबहादुर बमको पनि कोल्टीमा हृदयघातबाट मृत्यु भयो । उनको शवलाई कोल्टीबाट नेपाली कांग्रेसको झण्डा ओढाएर घरसम्म लगियो । त्यसको भोलिपल्ट पिलुचौर मसानघाट लगेर अन्तिम संस्कार गरियो । पहिले शवलाई ओढाइएको झण्डा अहिले मसानघाटनजिकैको रुखमा फहराइरहेकाे छ ।  

जगन्नाथ गाउँपालिका–४ गोत्रीका नयाँराम विकको मृत्युपछि पोस्टमार्टम गरेर गाउँ फर्काउँदा उसैगरी माओवादीको झण्डा ओढाइएको थियो । कर्णालीस्थित मसानघाटमा पुर्‍याएपछि उनलाई छोपेर लगेको झण्डा मसानघाटनजिकै  टाँगियो ।

केही वर्षयता गाउँमा लासलाई पार्टीको झण्डा ओढाएर त्यसमाथि दाबी ठोक्न होडबाजी नै चलेको छ । ‘यहाँका मसानघाट छेउछाउका बगरमा पहिले सेता कपडा र कात्रोहरू भेटिन्थे । अहिले पार्टीका  झण्डाहरू मात्र भेटिन्छन्’, कर्णाली नदीनजिकै बस्ने सरि शाहीले भने, ‘यो राजनीति पनि अचम्मकै हुँदो रहेछ, मसानघाटलाई समेत नछोड्ने ।’

प्रकाशित मिति: : 2021-04-29 09:27:00

प्रतिकृया दिनुहोस्