तङ्ग्रिन लाग्दा वैदेशिक रोजगारीमाथि अर्को संकट

अनलाइनखबर

काठमाडाैं

रवीन्द्र घिमिरे

दोस्रो चरणमा देखापरेको कोरोनाको महामारीले वैदेशिक रोजगारीको क्षेत्र पनि प्रभावित भएको छ । २०७७ पछि विस्तारै तङ्ग्रिदै गएको वैदेशिक रोजगारी क्षेत्रलाई फेरि बढेको महामारीले प्रभावित गर्ने अवस्था आइसकेको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ नेपालमा महामारीको दर जति बढ्दै जान्छ, त्यति नै श्रम गन्तव्य मुलुकले नेपालप्रति कडा नीति लिने भएकाले सतर्क रहनुपर्ने बताउँछन् ।

‘हामीले महामारी नियन्त्रण गर्न सक्यौं भने जुन गतिमा रोजगारीमा जानेहरु बढ्दै गएका छन्, त्यसलाई कायम राख्न सकिन्छ,’ उनी भन्छन्, ‘जोखिमका आधारमा गन्तव्य मुलुकले ढोका बन्द गरिदिन पनि सक्छ ।’

अहिले मलेसिया र कुवेतले नयाँ श्रमिकलाई लगेका छैनन् । श्रमिक लगिरहेका मुलुक पनि नेपालमा कोरोनाको संक्रमण बढेपछि झस्किएका छन् ।

कतार सरकारले मंगलबारबाट नेपालसहित ६ देशबाट आफ्नो देश फर्कनेलाई होटल क्वारेन्टिन अनिवार्य गर्‍यो । नेपाल सहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सबाट कतार फर्कनेले अब १० दिन होटल क्वारेन्टिन बस्नुपर्ने छ । यसअघि कोरोना भाइरसविरुद्ध कतारमा दुबै खोप लगाएकाले होटल क्वारेन्टिन बस्न पर्दैन थियो । अब कतार जाँदा ४८ घण्टाभित्र गरेको पिसिआर रिपोर्ट पनि लिएर जानुपर्ने छ ।

पछिल्ला दिनमा सबैभन्दा बढी श्रमिक लैजाने मुलुकमा कतार र साउदी अरेबिया नै अघि छन् । यूएईले अर्धसरकारी र सरकारी क्षेत्रमा मात्रै श्रमिक लिइरहेको छ ।

प्रकाशित मिति: : 2021-04-28 10:10:00

प्रतिकृया दिनुहोस्