निषेधाज्ञाले मात्र पुग्दैन, नागरिक आफैं सचेत हुनुपर्छ

अनलाइनखबर

काठमाडौँ

उपत्यकामा निषेधाज्ञाको निर्णय हुनु एक दिन अगाडि कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले महामारीको ‘चेन ब्रेक’ गर्नु अत्यावश्यक भइसकेको निष्कर्ष निकालेको थियो।

त्यसका लागि लकडाउन अथवा बढी संक्रमण देखिएको क्षेत्रमा निषेधाज्ञाको विकल्प नरहेको सीसीएमसीको निचोड थियो।

निषेधाज्ञाले मात्रै चेन ब्रेक गर्न सक्छ त ? जनस्वास्थ्यविद्हरूका अनुसार ‘मोबिलिटी’ बन्द गरेर मात्र चेन ब्रेक गर्न सम्भव हुँदैन।

‘समुदायमा संक्रमण फैलिरहेको दर कम हुन्छ भन्ने उद्देश्यले निषेधाज्ञा गरिने हो’, संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्, ‘निषेधाज्ञा गरेर हात बाँधेर बस्नु चाहिं गम्भीर गल्ती हुन्छ।’

उनका अनुसार निषेधाज्ञाको अवधिमा परीक्षणलाई व्यापक बनाउनुपर्छ, कन्ट्याक्ट ट्रेसिङमा जोड दिनुपर्छ। त्योसँगै स्वास्थ्य मन्त्रालय, प्रशासन, स्थानीय निकाय र नागरिकले खेल्ने भूमिकाले संक्रमणको चक्रलाई रोक्ने डा. सुवेदी बताउँछन्।

जिल्ला जनस्वास्थ्य कार्यालय र स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङ गरेर सम्भावित संक्रमितको पहिचान गर्दै परीक्षण बढाउनुपर्ने बताउँदै उनी भन्छन्, ‘लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको जाँचलाई मात्र व्यापक बनायौं भने पनि संक्रमण फैलिने दर कम हुन्छ।’

प्रकाशित मिति: : 2021-04-27 14:34:00

प्रतिकृया दिनुहोस्