‘सेटिङ’ मिलाएर भिजिट भिसामा मानव तस्करी

Breaknlinks
Breaknlinks

रामेछापका तुलसीराम भुसाललाई जनही २ लाख ३५ हजार बुझाएर भिजिट भिसामा युएई आएका मकवानपुरका चार जना युवा दुबईको सडकमा भौँतारिएको ३ महिना भयो। हातमा बायोडाटा बोकेर जागिर खोज्दा–खोज्दा हैरान बनेका चारमध्येका दुई जना रविनकुमार कार्की र अनिल बस्यालसँग त बिहान–बेलुकीको छाक टार्ने खर्चसमेत छैन।

झापाका झलेन्द्र बिक र महेश चौधरी युएई आएको पनि दुई महिना नाघिसकेको छ। उनीहरु दुवै काठमाडौंको सुन्धारामा रहेको एक मेनपावर एजेन्सीलाई दुई/दुई लाख बुझाएर भिजिट भिसामा युएई आएका हुन्। उनीहरुले दुबई विमानस्थलमा ओर्लिंदासम्म पत्तो पाएनन्– आफूहरु भिजिट भिजामा रहेको। काठमाडौंमा सम्पूर्ण सेटिङ मेनपावरले गरिदिएको हुनाले आफूहरुले भिजिट भिजाका बारेमा पत्तै नपाएको उनीहरुको भनाइ छ।

लमजुङका विश्वम्भर पन्तले युएईमा सेक्युरिटी गार्डको जागिर लगाइदिन्छु भन्दै दुई लाख ७० हजार लिएर युएई ल्याएका थिए– गोर्खाका सुभास किसनलाई। तीन महिनासम्म पनि रोजगारी नपाएपछि झण्डै ४० हजार रुपैयाँ ‘ओभर स्टे’ जरिवाना तिरेर १५ दिनअघि उनी नेपाल फर्किएका छन्।

यी त प्रतिनिधि घटना मात्रै हुन। सरकारले भिजिट भिसामा खाडी मुलुक जान कडाइ गरे पनि विमानस्थल र अद्यागमनमा ‘सेटिङ’ गरी नेपाली कामदार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युएई, साउदी अरेबिया, कतार, कुवेतलगायतका मुलुकमा आउने क्रम रोकिएको छैन। कोरोनाको प्रकोप सुरु भएयता त यो क्रम झनै बढेको छ।

युएईमा मात्रै हजारौँ नेपाली भिजिट भिजामा आएर अलपत्र परेका छन्। यीमध्ये कत्तिको खाने र बस्ने ठाउँको समेत टुंगो छैन। सरकारी नियमअनुसार साथमा बोकेर ल्याएको एक हजार अमेरिकी डलरसमेत दलालले विमानस्थलबाटै लिनेगरेको भिजिट भिजामा आउनेहरु बताउँछन्। 
तीन महिनाअघि दुबई आएका मोरङका चित्र राईसँग दलालले दुबई विमानस्थलबाटै पैसा लिएर सम्पर्कबिहीन बनेको थियो। उनी पनि अहिले पनि जागिरकै खोजीमा भौँतारिरहेका छन्। 
राम्रो कमाइ हुने जागिरको प्रलोभनमा परी भिजिट भिसामा युएई आएका कैयौँ नेपाली युवा दुबई, सारजाह, रसअलखेमा लगायतका राज्यमा अलपत्र परेका छन्। उनीहरुको खाने–बस्ने र रोजगारीको व्यवस्था गर्ने जिम्मा लिएका दलालहरु सम्पर्कबिहीन भएका छन्। अनि उनीहरु अलपत्र परेका हुन्। अलपत्र परेका नेपालीलाई नेपाल एसोसिएसन, एनआरएनएजस्ता संघसंस्थाहरुले सहयोग गर्नेगरेका छन्।

विमानस्थल र अध्यागमनमा हुने ‘सेटिङ’ बारे सरकार राम्रो जानकार छ। नेपालबाट भ्रमणमा आउने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि सांसदसम्मलाई विमानस्थलमा हुने सेटिङबारे  सुनाइएको छ।

सरकारी प्रतिनिधि सम्मिलित हरेक कार्यक्रमको पहिलो प्राथमिकतामा पर्छ– नेपालको विमानस्थलमा हुने ‘सेटिङ’। तर, कार्यक्रम सकेर गएलगत्तै ‘सेटिङ’ बन्द हुने आश्वासन बाँडे पनि त्यो कार्यान्वयन भने अहिलेसम्म हुन सकेको छैन।

हालको नियमअनुसार, भिजिट भिजामा खाडीमुलुक जान आमाबुबा, छोराछोरी र पति वा पत्नी हुनुपर्दछ। यी सम्बन्ध खुलेको व्यक्तिलाई मात्र दूतावासको सिफारिशका आधारमा भिजिट भिसामा ल्याउन पाइन्छ तर दलालहरुले राम्रो जागिर र आकर्षक तलबको प्रलोभनमा पारी ‘सेटिङ’ मार्फत् दिनहुुँ सयौँको सङ्ख्यामा नेपाली युवालाई खाडी मुलुक लगिरहेका छन्।



म्यान्मार ‘कू’: त्राससँगै शोकमा छन् नेपालीभाषी

दासढुङ्गाभित्र लुकेका घटना र प्रेमकथाहरु

विदेशीकाे भारी बाेकेर मालिक बनेका नाेर्बु 

म्यान्मारको सशस्त्र विद्रोही समूह ‘केआईए’मा गोर्खा बटालियन

 

 

प्रकाशित मिति: : 2021-04-27 20:45:00

प्रतिकृया दिनुहोस्