भेरी अस्पतालमा उपचार गराइरहेका संक्रमित भन्छन्ः सेतो कपडा लगाएका मान्छे कोठामा छिर्ने बित्तिकै मुटु काँप्छ

नागरिक दैनिक

नेपालगन्ज

अर्जुन ओली

नेपालगन्ज–२ घरबारी टोलका ब्यापारी हिमलाल न्यौपाने र उनकी श्रीमती दुर्गादेवी विगत चार दिनदेखि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना छन् । उक्त वार्डको ४५ नम्बर बेडमा यि दम्पतीले आलोपालो गरेर कोरोनाको उपचार गराइरहेका छन् । हिमलालको भन्दा दुर्गादेवीको स्वास्थ्य अवस्था कमजोर छ । श्वासप्रश्वासमा बढी समस्या भएकाले उनलाई अक्सिजन दिइरहनुपर्छ । हिमलालाई भने छाती दुख्ने समस्या छ ।  

गत बुधबार कोरोना पोजेटिभ भएपछि ५२ वर्षका यि दम्पती अस्पतालमा भर्ना भएका हुन् । ‘श्रीमतीलाई श्वासप्रश्वासमा समस्या भएको हुँदा बल्लतल्ल भर्ना गराएँ, ‘खाली नहुँदा मैले नै बेड पाएन, अहिलेसम्म एउटै बेडबाट बुढाबुढीले उपचार गराइरहेका छौं,’ उनले नागरिकसँग भने ।  

विगत तीन दिनयता बिरामीको चापले गर्दा अस्पताल भरिभराउ भएको स्मरण गर्दै हिमलालले भने, ‘हिजो अस्तीसम्म त खुट्टा टेक्ने ठाउँ पनि थिएन, एकछिन बेड खाली भएपनि तत्कालै सिरियस बिरामी आएपछि मानवताको नाताले छाडिदिए ।’ कोभिड वार्डमा भर्ना भएका बिरामीको बोल्दा बोल्दै मृत्यु भएको देख्दा आफ्नो होस नै उडेको हिमलाल सम्झन्छन् ।  

‘सेतो कपडा(पिपिई) लगाएका मान्छे कोठामा छिर्ने बित्तिकै मुटु काँप्छ, उनीहरु मरेका लाशलाई उठाएर बाहिर लैजान्छन्, कसैलाई त भित्र ल्याउँदा ल्याउँदै मरेपछि बाटोबाटै फर्काएर लैजानुपर्छ,’ उनले त्यहाँको अवस्था वर्णन गर्दै भने । कोभिड वार्डमा रहेका थोरै संख्याका स्वास्थ्यकर्मीले बिरामीलाई गरेको नियमित हेरचाह र सेवा अविष्मरणीय रहेको हिमलाल सुनाउँछन् । उनले थपे, ‘साना नानीहरु धेरै मेहेनत रहेछन्, उनीहरुले गरेको सेवा देख्दा गज्जब लाग्यो ।’  

भेरी अस्पतालकै कोभिड वार्डमा नेपालगन्ज–२ बुद्धनगरका ५५ वर्षीय चित्रबहादुर डाँगी पनि कोभिडसँगै लडिरहेका छन् । उक्त वार्डको १६ नम्बर बेडमा उपचाररत उनलाई कोरोना संक्रमणका कारण छातीमा इन्फेक्सन भएको छ । यसले गर्दा नियमित रुपमा अक्सिजन चढाइरहनुपर्छ । ५५ वर्षीय चित्रबहादुरको स्याहार सुसारमा उनकी श्रीमती दिनरात खटिरहेकी छन् ।

प्रकाशित मिति: : 2021-04-27 06:43:00

प्रतिकृया दिनुहोस्