अस्पतालका अक्सिजन प्लान्ट मर्मत नहुँदा सिलिन्डरको भर : ‘अक्सिजन पर्याप्त उत्पादन, हस्पिटलमा पुर्‍याउन सिलिन्डर कम’

जनार्दन बराल / कृष्ण रिजाल

महामारीविरुद्ध सारा विश्वले संघर्ष गरेको यो एक वर्षमा नेपाल सरकारले न बिग्रिएका अक्सिजन प्लान्ट बनाएको छ, न पर्याप्त सिलिन्डरको जोहो गरेको छ । अक्सिजन उत्पादनमा आत्मनिर्भर भए पनि अस्पताल–अस्पताल पुर्‍याउन सिलिन्डर अभाव हुने देखिएको छ । उद्यमीहरूले तत्कालै ३० देखि ४० हजार सिलिन्डर आयात गर्न सुझाब दिएका छन्, तर नियमित प्रक्रियाबाट आयात गर्दा यसका लागि करिब दुई महिना लाग्ने देखिएको छ । 

नेपालमा पूर्व झापादेखि पश्चिम नेपालगन्जसम्म अक्सिजन उद्योग छन् । ती उद्योगले नेपाललाई आवश्यक अक्सिजन आपूर्ति गर्ने प्रतिबद्धता जनाएका छन् । तर, अक्सिजन होइन, सिलिन्डर अभाव हुन सक्ने नेपाल अक्सिजन ग्यास उत्पादक संघको भनाइ छ । खाली भएको सिलिन्डर उद्योगसम्म पुर्याउने र उद्योगबाट अस्पतालसम्म पुर्‍याउन समय लाग्ने भएकाले अधिकांश सिलिन्डर बाटोमै हुन्छन्, बिरामीको सेवामा थोरै मात्र सिलिन्डर लगाउन सकिने उद्योगीहरूको भनाइ छ । ‘सिलिन्डर अभावले समस्या हुन सक्ने देखेर तत्कालै आयातका लागि सरकारलाई सुझाब दिएका छौँ,’ संघका अध्यक्ष गौरव सारडाले नयाँ पत्रिकासँग भने । 

उद्यमीहरूका अनुसार अहिले अक्सिजन उत्पादन गर्ने पाँच ठूला उद्योगसँग करिब १२ हजार र अन्य १६ उद्योगसँग करिब दुई हजारका दरले अक्सिजन सिलिन्डर छन् । यसरी देशमा करिब ९० हजार सिलिन्डर सञ्चालनमा छन् । तर, यसको निश्चित लेखाजोखा अहिलेसम्म भएको छैन । 

संघले स्वास्थ्य मन्त्रालयलाई तत्काल ३०–४० हजार थान सिलिन्डर आयात गर्न सुझाब दिएको छ । कोभिडको महामारी बढ्दै गएको अवस्थामा अक्सिजनको चरम संकट हुन सक्ने भन्दै उद्योगीले सहज आपूर्तिका लागि सिलिन्डर आयात गर्न सरकारलाई सुझाब दिएका हुन् ।

तरल अक्सिजन खाना पकाउने ग्यासजस्तै बुलेट (ट्यांकर)मा ल्याउने हो, त्यो केमिकलबाट बन्ने हो । यस्तो अक्सिजन एकैपटक ल्याएर अस्पतालको प्लान्टमा खन्याएपछि दुई–तीन सातालाई पुग्छ । प्लान्टबाट बेडसम्म जोडिएको प्रणालीबाट बिरामीलाई अक्सिजन पुग्ने भएकाले यो सेवा विश्वसनीय हुन्छ । तर, देशका प्रमुख अस्पताल वीर, पाटन, पोखरा र धरानमा यस्ता प्लान्ट एक वर्षअघि नै बिग्रिएका हुन्, सरकारले बनाएको छैन । सिलिन्डर भने छिटो–छिटो फेर्नुपर्छ, अब धेरै अस्पतालमा त्यसैको भर गर्नुपर्ने अवस्था छ ।

प्रकाशित मिति: : 2021-04-27 06:34:00

प्रतिकृया दिनुहोस्