कोरोना रोकथामका लागि सीमामा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बढ्दो कोरोना कहर नियन्त्रण तथा रोकथामका लागि सीमाक्षेत्रमा कडाइ गर्न बाहिनीपतिहरुलाई निर्देशन दिएका छन्।

महानिरीक्षक खनालले सोमबार मुख्यालयबाट भिडियो स्ट्रिममार्फत बाइनीपतिलाई नाकामा कडाइका साथ परिचालन हुन तथा कोरोना महामारी नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन्। उनले सीमा क्षेत्रमा आक्रमक ढंगले कृयाशील रहनसमेत निर्देशन दिए।

महानिरीक्षक खनालले सीमा नाका व्यवस्थित गर्न, कोरोनासम्बन्धी जनचेतना फैलाउन उच्च सतर्कता र स्वास्थ्य मापदण्ड पूरा गरी ड्यूटीमा परिचालित हुन मातहतका कर्मचारीलाई निर्देशन दिए।

आफ्ना सबै युनिटको अवस्था बुझ्नुका साथै सशस्त्र प्रहरी कर्मचारीको स्वास्थ्यको ख्याल गर्दै स्वास्थ्य मापदण्ड पालना गराउन कडाइका साथ प्रस्तुत हुनसमेत उनले निर्देशन दिए।

नेपाल सरकारबाट प्राप्त निर्देशनलाई अक्षरशः पालना गर्दै आफ्नो युनिटको आन्तरिक व्यवस्थापन, सीमा नाकामा कडाइ, अत्यावश्यक वस्तु ढुवानीमा सहजीकरण तथा उच्च स्तरको र प्रभावकारी ड्यूटी परिचालन गर्नसमेत उनले निर्देशन दिए। चोरी–तस्करी नियन्त्रण गर्न मातहतलाई चनाखो हुन निर्देशन दिएका छन्।

उनले प्रदेशमा रहेका आफ्ना चिकित्सकमार्फत् घुम्ति परामर्श शिविर सञ्चालन गराउने व्यवस्था मिलाउनुका साथै आवश्यकताअनुसार उपत्यकास्थित नेपाल एपीएफ अस्पतालका चिकित्सकहरुसँग समन्वय गरी कार्य गर्न र अभिभावकीय जिम्मेवारी पूरा गर्नसमेत निर्देशन दिए।

प्रकाशित मिति: : 2021-04-26 17:44:00

प्रतिकृया दिनुहोस्