नेप्सेमा उच्च गिरावट

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ।

साताको पहिलो दिन नै नेप्से ७५.७९ अङ्कले ओरालो लागेर दुई हजार ५७२.२२ मा ओर्लेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.५६ अङ्कले घटेर ४६४.०५ मा ओर्लेको छ।

कूल २१५ कम्पनीको एक करोड ४६ लाख ९० हजार ७२० कित्ता सेयर सात अर्ब २८ करोड ४१ लाख ९४ हजार ९०१ मा खरिद बिक्री भए। आइतबारको कारोवारपछि बजार पूँजीकरण ३५ खर्ब ६१ अर्ब ७२ करोड ८७ लाख ५० हजार हाराहारीमा छ।

कारोवार भएका १३ उपसमूहको सेयर नै ओरालो लागेको छ। बैंकिङ ४२.६५, व्यापार ११३.५५, होटल तथा पर्यटन २२०.२७, विकास बैंक ८६.३४, जलविद्युत् ११२.४१, वित्त ४३.७७, निर्जीवन बीमा ४४०.८७, उत्पादन १३६.२१, अन्य ४७.१३, लघुवित्त १६०.६५, जीवन बीमा ४६०.०४, सामूहिक लगानी कोष ०.०९ र लगानी ३.३५ बिन्दुले घटेको छ। कारोवारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहयो। सो बैंकको ३९ करोड ५२ लाख ५२ हजार ६४० बराबरको कारोवार भयो।

यस्तै, ज्योति लाइफ ३३ करोड ८५ लाख ६२ हजार ७२७, माथिल्लो तामाकोशी २५ करोड ९७ लाख २७ हजार ४४४, नबिल बैंक २० करोड ९७ लाख ८२ हजार ४०४ र एनआइसि एशिया बैंक २० करोड ५६ लाख ३० हजार ३७२ बराबरको कारोवार भयो।

नेप्सेमा उच्च अङ्कको गिरावट देखिदा महिला लघुवित्तको शेयरमा भने सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको शेयरमा ९.९९ प्रतिशतको वृद्धि भएको छ। 

प्रकाशित मिति: : 2021-04-25 17:36:00

प्रतिकृया दिनुहोस्