तत्कालै लकडाउन गर्ने कुरा छैन, प्रधानमन्त्रीले पूर्वतयारीमा जुट्न निर्देशन दिनुभएको छ: लेखराज भट्ट

File photo
File photo

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको दोस्रो लहरबाट जोगिन तत्कालै पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन्।

कोभिड १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) मा रहेका मन्त्रीहरुलाई शनिबार अपरान्ह बालुवाटारमा डाकेर तत्काल लकडाउन नगर्ने तर कोरोनासँग सामना गर्न तत्काल पूर्व तयारीमा जुट्न निर्देशन दिएका हुन्।

सीसीएमसीमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका अनुसार प्रधानमन्त्री ओलीले कोरोनाको प्रकोप पुनः बढेकाले तत्कालै भेन्टिलेटर र अक्सिजनको प्रबन्ध गर्न निर्देशन दिएका थिए। आपूर्ति व्यवस्था सहज बनाउने र नपुगेका ठाउँ भए खाद्यान्न, औषधिजस्ता सामग्री तत्काल पठाउन पनि निर्देशन दिएका थिए।

सीसीएमसीको बैठकमा नाकालाई व्यवस्थित गर्न र स्वास्थ्य मन्त्रालयलाई कोरोनासम्बन्धी मापदण्ढ एकदम कडाइका साथ पालना गराउनेबारे पनि छलफल भएको थियो। बन्द भएका स्कुल कलेज तत्कालन नखोल्ने र आवश्यकताअनुसार अरु पनि बन्द राख्ने कुरा भएको मन्त्री भट्टले बताए। 

बिएल नेपाली सेवासँगको कुरा गर्दै मन्त्री भट्टले भने, ‘आवश्यकता परेको बेला भोलिका दिन जुनसुकै बेला लकडाउन लगाउने कुरा अलग होला, आज लकडाउन गर्नेबारे कुरा भएन। आजको बैठकमा कोरोनाको सामना गर्न अपनाउनुपर्ने सावधानी र पूर्वतयारीबारे कुरा भयो। प्रधानमन्त्रीज्यूले आइतबारदेखि नै यी यसमा जुट्न भन्नुभएको छ।’

महामारी फैलनबाट जोगिन विदेशबाट आएका व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गर्ने, भीड जम्मा हुनबाट रोक्ने र अनुशासनको पालना गर्न अपिल गर्ने निर्णय भएको मन्त्री भट्टले जानकारी दिए।

प्रकाशित मिति: : 2021-04-24 22:55:00

प्रतिकृया दिनुहोस्