‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ भन्ने उक्तिलेसमेत चिनिने म्याग्दीको दुर्गम गाउँ गुर्जामा थ्रिजी सेवा पुगेको छ।
सदरमुकाम बेनीदेखि २६ कोष पश्चिममा अवस्थित सो गाउँमा पुरानो भिस्याट प्रविधि प्रतिस्थापन गरी बिहीबारदेखि रेडियो लिङ्कमार्फत थ्रिजी सेवा शुरु गरिएको हो। यसअघि भिस्याटबाट चल्ने टुजी सेवा प्रभावहीन थियो।
मोबाइलको भ्वाइस सेवा पनि स्तरीय थिएन। धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा गाउँका बासिन्दा भरपर्दो सञ्चार सेवाबाट वञ्चित थिए। नेपाल टेलिकमले रेडियो लिङ्क जडान गरेसँगै मोबाइल र तीव्र गतिको इन्टरनेट सेवा पुगेको हो।
पहिलोपटक इन्टरनेट चलाउन प्रयोग हुने थ्रिजी सेवा सञ्चालनमा आएपछि गुर्जावासी खुशी छन्। विसं २०७१ मा भिस्याट प्रविधिमार्फत मोबाइल सेवा पुगे पनि त्यसको क्षमता सीमित थियो। घाम लाग्दा मात्र नेटवर्क आउने स्थिति थियो। अब त्यो समस्या सधैँका लागि अन्त्य भएको छ।
वडा नं ४ को बगरामा टावर राखेर रेडियो लिङ्कमार्फत गुर्जामा थ्रिजी सेवा पु¥याइएको टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताए। बगराको रिपिटरलाई मालिका गाउँपालिका–३ को रुम गाउँमा रहेको बिटियस टावरमा लिङ्क गरिएको उनको भनाइ छ।
माइक्रोवेभ रेडियो लिङ्क जडानपछि गुर्जा र बगरा गाउँका ५५० घरधुरी लाभान्वित भएका छन्। धौलागिरि आधार शिविर, सिनकुस, दुर्कोट, दोभान, धौलागिरि पदमार्गलगायतका क्षेत्रमा नेटवर्कको पहुँच विस्तार भएको छ। धौलागिरि पदमार्ग भएर आहोरदोहोर गर्ने पर्यटकले समेत सहजरुपमा इन्टरनेट सेवा पाउनेछन्।
सेवा विस्तारको काममा गाउँपालिका र स्थानीयवासीले ठूलो सहयोग गरेको वरिष्ठ इञ्जिनीयर शर्माले बताए। टेलिकमका प्राविधिक विकट भूगोल र प्रतिकूल मौसमका बाबजुद एक हप्तासम्म गुर्जा र बगरामा खटिएका थिए। धौलागिरि गाउँपालिकाले पोल खरिद र ढुवानीका लागि रु डेढ लाख सहयोग गरेको थियो।
गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले मोबाइल र तीव्र गतिको इन्टरनेट सेवाले दुर्गम गुर्जावासीको दैनिकी सहज बन्ने बताए। गाउँपालिकाभर गुणस्तरीय सञ्चार सेवा विस्तार गर्ने योजना रहेको उनको भनाइ छ। वडाध्यक्ष झकबहादुर छन्त्यालले मोबाइलमा इन्टरनेट चलाउन पाउँदा गाउँले दङ्ग परेको बताए।