भनिन्छ, बाह्र वर्षमा खोला फर्किन्छ।
खोलो फर्के पनि हराएका मूर्तिहरू त कहाँ कहाँ पुग्छन्! बिरलै भेटिन्छन्, बिरलै फिर्ता आउँछन्।
चापागाउँलाई भने यो दुर्लभ क्षण प्राप्त भएको छ। तर यसका लागि चापागाउँले ५२ वर्ष कुर्नुपर्यो।
सोमबार चापागाउँ जात्रामय थियो। ५२ वर्षपछि बज्रबाराहीको मूर्तिलाई उनीहरूले आफ्नै थलोमा फिर्ता पाउँदै थिए।
त्यही खुसी साट्न चापागाउँसँगै नजिकैका थेँचो, प्यानगाउँ, बुलु, सुनाकोठी लगायत ठाउँका मान्छे ठूलो संख्यामा उपस्थित भएका थिए। उनीहरूले बाजा बजाउँदै, सिन्दूर जात्रा गर्दै घर फर्केका बज्रबाराहीको भव्य स्वागत गरे। छाउनी संग्रहालयबाट गाडीमा राखेर ल्याइएका भगवानलाई थेँचोबाट जात्रा गर्दै आगँछेमा प्रतिस्थापन गरियो।
स्थानीय पाका कृष्णगोपाल डंगोल भन्दै थिए, 'यस्तो भव्य जात्रा न कहिले भएको थियो, न कहिले हुनेछ।'
मंगलबार गुठियारहरू भगवानकै रेखदेखमा व्यस्त थिए। उनीहरूले बज्रबाराहीलाई सफा गरे। चोरी भएर हराएकी बज्रबाराही माई भेटिँदासम्म उनको खड्ग हराइसकेको थियो। देब्रे हात भाँचिएको थियो। बस्ने कमलको आसन थिएन। मूर्तिमा लगाइएको सुनको जलप कतैकतै उडेको थियो।