केही समयअगाडि काम विशेषले नयाँ दिल्ली पुगेकी आफ्नी श्रीमतीलाई नेपाल ल्याउन कवित शर्मा (नाम परिवर्तन) लाई पीसीआर रिपोर्ट अनिवार्य भयो । तर, नयाँ दिल्लीमा कहाँ, कसरी पीसीआर गर्ने भन्ने अन्योल पर्यो । उनले यो कुरा आफ्ना एक साथीलाई भने । उनले त्यसको कुनै चिन्ता नलिन आग्रह गर्दै नाम, उमेर, ठेगाना र फोन नम्बर मागे ।
कवितले श्रीमतीको नाम, ठेगाना, उमेर, सम्पर्क नम्बर सबै पठाइदिए । त्यसको दुई घण्टामा उनको इमेल ठेगानामा एउटा पेपर आयो । पेपर उनकै श्रीमतीको पीसीआर रिपोर्टको थियो, जहाँ नेगेटिभ उल्लेख गरिएको थियो । जबकि, त्यतिबेलासम्म कवितकी श्रीमती दिल्लीको एक होटलमै थिइन् ।
यो एक उदाहरण मात्रै हो । भारतको दिल्लीबाट काठमाडौं आउनका लागि अहिले अधिकांशले स्वास्थ्य परीक्षणबिना नक्कली पीसीआर रिपोर्ट बनाएर ल्याउने गरेका छन् । विमान कम्पनी र अध्यागमन कार्यालयले कडाई नगर्ने भएका कारण विमान चढ्ने प्रयोजनका लागि मात्रै पीसीआर रिपोर्ट ल्याउने गरिएको छ ।