एमसिसी रोक्न चीनको इसारामा ओलीले संसद् अधिवेशन अन्त्य गरेको देउवाको विश्लेषण

ओलीले अविश्वासको प्रस्ताव आउला भनेर होइन, अन्य कारणले (चीन रिसाउँछ भनेर) नै संसद् अधिवेशन अन्त्य गराएका हुन्, तपाईंहरू (पार्टी नेताहरू) कुरै बुझ्नुहुन्न । आफैँ सर्वदलीय बैठक बोलाएर ओलीले एमसिसीको प्रस्ताव अघि सारेका थिए, तर उनले सभामुखका कारण अघि बढ्न सकेन भने । संसद्मा अघि बढ्ने अवस्था थियो, तर ओलीले संसद् नै बन्द गरे । ओलीले एमसिसी पास गर्दा चीन रिसाउँछ र त्यसपछि आफूविरुद्ध खेल हुन्छ भनेर संसद् अधिवेशन अन्त्य गराएका हुन् । उनले अमेरिका र चीनसँग दोहोरो भूमिका खेले ।

.....

प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसद्बाट पास हुन नदिन प्रधानमन्त्री केपी ओलीले हठात्मा संसद् अधिवेशन अन्त्य गराएको विश्लेषण सुनाएका छन् । बुधबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकमा सभापति देउवाले एमसिसी रोक्न ओलीले चिनियाँ इसारामा संसद् अधिवेशन अन्त्य गराएको विश्लेषण सुनाएका हुन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाट संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गराएकै दिन सोमबार देउवाले ‘ओली भारतको टाङमुनि छिरिसकेको’ बताएका थिए । 

बैठकमा देउवाले एमसिसीसँग जोडेर प्रधानमन्त्री ओलीसँगको असन्तुष्टि पोखेका थिए । ‘ओलीले अविश्वासको प्रस्ताव आउला भनेर होइन, अन्य कारणले नै संसद् अधिवेशन अन्त्य गराएका हुन्, तपाईंहरू कुरै बुझ्नुहुन्न,’ देउवाले बैठकमा भनेको उद्धृत गर्दै कांग्रेसका एक पदाधिकारीले भने, ‘आफैँ सर्वदलीय बैठक बोलाएर ओलीले एमसिसीको प्रस्ताव अघि सारेका थिए, तर उनले सभामुखका कारण अघि बढ्न सकेन भने । संसद्मा अघि बढ्ने अवस्था थियो, तर ओलीले संसद् नै बन्द गरे ।’

अमेरिकाको पनि विश्वास लिने र चीनसँगको विश्वासलाई नतोड्ने गरी ओलीले खेल रचेको देउवाको ब्रिफिङ थियो । ओलीले एमसिसी पास गर्नुपर्छ भनेर चिनियाँको इसारामा संसद् अधिवेशन अन्त्य गराएको देउवाको दाबी थियो । ‘एमसिसीबारे छलफल गर्दा सत्ता र प्रतिपक्ष नै पास गर्नुपर्ने पक्षमा उभिएका छौँ । सभामुखले मात्रै कसरी रोकेर राख्न मिल्छ ?’ एक नेताले देउवाको भनाइ उद्धृत गर्दै भने, ‘ओलीले एमसिसी पास गर्दा चीन रिसाउँछ र त्यसपछि आफूविरुद्ध खेल हुन्छ भनेर संसद् अधिवेशन अन्त्य गराएका हुन् । ओलीले अमेरिका र चीनसँग दोहोरो भूमिका खेले ।’

प्रकाशित मिति: : 2021-04-22 07:46:00

प्रतिकृया दिनुहोस्