भारतमा कोरोनाको अवस्था भयावह, एकै दिन विश्वमा सबैभन्दा बढी मानिस मर्दै

Photo : mint
Photo : mint

भारतमा कोरोना महामारीको अवस्था झन् भयावह बन्न थालेको छ।

मंगलबार मात्र देशमा कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार नाघेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले जनतासमक्ष आफ्नो सुरक्षा आफै गर्न अपील गरेका छन्।

कोरोनाको बढ्दो संक्रमणका कारण राज्यमा अक्सिजनको अभाव देखिन थालेको छ। अस्पतालमा बेड र भेन्टिलेटरको पनि अभाव छ। कोरोनाको कारण मर्नेको संख्या बढ्न थालेपछि आर्यघाट पनि दाहसंस्कार प्रभावित बनेको छ। मंगलबार मात्र भारतमा २ हजार २० जनाको निधन भएको थियो।

हाल राजधानी नयाँदिल्ली, कर्नाटका र केरलमा संक्रमितको संख्या दिनहुँ बढ्न थालेको छ। आर्थिक नगरी मुम्बई पहिलेदेखि नै प्रभावित छ। मुम्बईमा पूर्ण लकडाउन गराउने विषयमा बुधबार कुनै निर्णय हुनसक्ने भारतीय अखबारले बताएका छन्।

नयाँदिल्लीमा मात्र मंगलबार २८ हजार ३ सय ९५ संक्रमित भेटिएका थिए। जसमा २ सय ७७ जनाको निधन भएको थियो। केही साताअघि १ प्रतिशत मात्र संक्रमित भेटिएको दिल्लीमा ३२ दशमलव ८२ प्रतिशत पुगेको छ। यहाँ संक्रमितको संख्या ९ लाख नाघेको छ। दिल्लीको अस्पतालमा अक्सिजनको अभाव देखिन थालेको छ। यस्तो अवस्थामा दिल्ली सरकारले केन्द्र सरकारसँग सहयोग माग गरेको छ।



नमूना नै नलिई पिसिआरः नक्कली रिपोर्ट बनाउँदै, पैसा असुल्दै



केरलमा पनि मंगलबार १९ हजार ५ सय ७७ नयाँ संक्रमित भेटिएका थिए। यो एकदिनमा अहिलेसम्मकै ठूलो संख्या हो। अवस्थाको गम्भीर्यता हेर्दै मुख्यमन्त्री पिनाराई विजयनले प्रदेशमा रात्रीकालीन कर्फ्यु लागु गरेका छन्।

चार दिनदेखि रात्रीकालीन कर्फ्यु लागु भएको कर्नाटकमा मंगलबार २१ हजार ७ सय ९४ संक्रमित फेला परेका थिए। यहाँ अप्रिल २१ देखि ९ बजे रातीदेखि ६ बजे बिहानसम्म रात्रीकालीन कर्फ्यु लागु गरिएको छ।

भारतमा लगातार चार दिनयता कोरोना संक्रमितको संख्या २ लाख ५० हजार कटेको हो। गत आइतबार कोरोना संक्रमितको संख्या २ लाख ७५, सोमबार २ लाख ५६ हजार पुगेको थियो। संक्रमणका कारण भारतमा हालसम्म १ लाख ८२ हजार मानिसको निधन भइसकेको छ।

कोरोनाको दोेस्रो वेभमा मर्नेको संख्यामा भारत अग्रस्थानमा छ। यसपछि ब्राजिल र तेस्रोमा अमेरिका छ। ब्राजिलमा हरेक दिन १५ सयको निधन भइरहेको छ। अमेरिकामा ४ सयदेखि ६ सयसम्मको निधन हुने गरेको छ।


एकैदिन १७३६ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु 

प्रकाशित मिति: : 2021-04-21 08:31:00

प्रतिकृया दिनुहोस्