कोरोनाको नयाँ प्रजातिबाट बालबालिकामा भएको संक्रमण दर खतराको घण्टी हो: प्रा.डा. बिच्छा (भिडियो अन्तर्वार्ता)

समान्यतः कुनै पनि संक्रामक रोगबाट पाँच प्रतिशतभन्दा बढी बालबालिका प्रभावित भएमा त्यसलाई खतराको सूचक मानिन्छ तर अहिले नेपालमा अहिले १० प्रतिशतभन्दा बढी बालबालिका नयाँ प्रजातिको कोरोना भाइरस ‘भेरियन्ट’ बाट संक्रमित छन्।

कान्ति बाल अस्पतालका निर्देशक प्रा.डा. आरपी बिच्छाले भने, ‘यो यो खतराको घण्टी हो।  अहिले बढिरहेको कोरोना भाइरस संक्रमण खतराको सूचक हो।’

नेपालमा तीव्र गति बढ्दै गएको कोरोना संक्रमणको पछिल्लो लहरले बालबालिकालाई पनि नराम्ररी प्रभावित पारेको छ।

निर्देशक बिच्छा स्वास्थ्यका हरेक मापदण्डलाई गम्भीरतापूर्वक नलिँदा यस्तो विकराल अवस्था आएको बताउँछन्।

अघिल्लो पटक पहिलो चरणको संक्रमणको समयमा परिवारले सुरक्षाको मापदण्ड अपनाएकोले बालबालिका कम प्रभावित भएका थिए तर अहिले यसलाई ‘मजाकको रुपमा’ लिएर सावधानी नअपनाउँदा संक्रमण तीव्र गतिमा बढेको उनले बताए।

डा. बिच्छाले भने, ‘भेरियन्टबाट संक्रमित बालिबालिका तुरुन्तै सिकिस्त हुने भएकोले आम अभिभावक यसप्रति सचेत हुनुपर्छ। यदि कुनै बालबालिकालाई रुघा–खोकी, ज्वरो आउने, झाडा–पखाला लाग्ने भएमा घरमै राखेर औषधि खुवाउने नगरी तत्काल अस्पताल लैजान पनि अनुरोध गर्दछु।’

फागुनदेखि जेठ महिनासम्म  धेरैजसो ‘सिजनल ज्वरो’, रुघाखोकी तथा निमोनियाका बिरामीको चाप बढी हुने गरेको छ। यही समयमा कोरोना भाइरस संक्रमण पनि बढ्दा अस्पतालहरुलाई बिरामी बालबालिकाको व्यवस्थापन गर्न कठिन छ।

डा. बिच्छाले भने, ‘कान्ति बाल अस्पतालले बिरामीहरुलाई तीन तहमा वर्गीकरण गरी सोअनुसार वार्डको व्यवस्था गरेर संक्रमणको जोखिमबाट जोगाएर उपचार गरिरहेकोे छ।’

कान्ति बाल अस्पतालमा हाल आठ जना कोरोना संक्रमित बालबालिकाको उपचार भइरहेको छ।

कोरोना भाइरस संक्रमणबाट हालसम्म देशभरिमा कति बालबालिकाको मृत्यु भयो भन्ने यकिन तथ्याङ्क त छैन तर डा. बिच्छाले केही समयअघि कान्ति बाल अस्पतालमा ११ वर्षीय एक बालकको मृत्यु भएको जानकारी दिए।

उनले भने, ‘यही दरमा संक्रमण बढ्दै गएमा भोलिका दिनमा संक्रमित बालिबालिकालाई अस्पतालमा राख्न आवश्यक चिकित्सक र अस्पतालको शैय्याको अभाव हुनेछ। सरकार, अभिभावक र बालबालिकालाई यसप्रति गम्भीर भई सावधानी अपनाउन अनुरोध गर्दछु।’



दिल्लीमा प्रवासी मजदुरका अनेक दुःख (फोटोकथा)

अमेरिकामा कोरोना संक्रमितको उपचारमा संलग्न नेपाली डाक्टर भन्छन्– ‘हामी सिपाही हौँ, युद्ध लड्न सधैँ तयार हुनुपर्छ’ (भिडियो)

अमेरिकामा बसेर विश्वभरिका नेपालीलाई ‘काउन्सिलिङ’ गर्दे डाक्टर कल्याण (भिडियाे)

प्रकाशित मिति: : 2021-04-26 12:27:00

प्रतिकृया दिनुहोस्