अमेरिकामा कोरोना भाइरस रोगीको उपचारमा दिनरात खटिइरहेका चिकित्सकमध्ये एक हुन्, प्रकाश श्रेष्ठ। टेक्सासको लबकमा रहेको कोभेनान्ट मेडिकल सेन्टरमा उनी संक्रमक रोग ‘इन्फेक्सन प्रिभेन्सन र एन्टिमाइक्रोबियल स्टेवार्डसीप’ को स्वास्थ्य निर्देशक हुन्।
डाक्टर प्रकाशकी श्रीमती पनि मेडिकल डाक्टर हुन्। तर उनी रिसर्चमा भएको हुनाले कोरोना संक्रमितसँग प्रत्यक्ष काम गर्नुपर्ने हुन्छ। घरमा साना दुई छोराछोरी अनि बुढी आमा छिन्। उनी हरेक दिन काममा निस्किदा घरका अन्य सदस्य डराइरहेका हुन्छन्। उनी पनि केही सशंकित त छन् तर डराएका भने छैनन्। आफू कामबाट फर्किदा स–साना बच्चा र आमालाई संक्रमण सर्ने हो कि भन्ने डरले उनको मनमा डेरा बनाएको छ।
त्यसैले हिजोआज उनी घर फर्किनासाथ कपडा परिवर्तन गरिहाल्छन् र नुहाएपछि मात्र परिवार नजिक पुग्छन्।
‘कोभिड–१९ को महामारीपछि हामी चिकित्सकको दैनिकी पुरै परिवर्तन भएको छ,’ प्रकाशले बिएल नेपाली सेवालाई बताए–‘पहिला अस्पतालको काम सकेर सरासर घर फर्किएपछि बालबच्चासँग खेल्न बसिहाल्थे। अहिले अस्पतालबाट फर्किएपछि घरपरिवारका अन्य सदस्यलाई छोइन्छ कि भन्ने डर लाग्छ।’
उनी संक्रमक रोगको विशेषज्ञ भएको नाताले जस्तो सुकै जोखिममा काम गर्नुपर्ने बताउँछन्। उनी यसअघि पनि एचवान, एनवान वर्डफ्लु र इबोला जस्ता मल्टिडग रेजिस्टेन्स अर्गानिज्म व्याक्टेरिया भएका रोगीसँग प्रत्यक्ष काम गरिसकेको डाक्टर हुन्। त्यसैले उनी कोभिड–१९ को यो महामारीसँग खासै आत्तिएका भने छैनन्।
भन्छन्–‘हामी युद्ध लड्ने सिपाही जस्तै हौं। जस्तो सुकै संक्रमणसँग लड्न तयार भएर बस्नु पर्छ।’
यति बेला प्रकाशको परिवारको दैनिकी कोरोना संक्रमित बिरामीको सेवा गर्ने र उनीहरूको जीवन बचाउन यथासक्य प्रयास गर्दामै बित्छ। प्रकाशको भाई अमेरिकाकै एक अस्पतालमा ‘ईन्सेन्टिभ केयर युनिट (आइसीयू)’ मा काम गर्छन् भने बुहारी पनि डाक्टर छिन। त्यसैले उनीहरूको पुरै परिवार कोरोना संक्रमितको उपचारमा व्यस्त छ।
पछिल्लो समय नेपालमा चिकित्सकलाई दूव्र्यवहार गरिएको समाचारले प्रकाशको मन भने कुडिएको छ। भन्छन्–‘अमेरिकामा चिकित्सकलाई तालि पिट्छन्। अहिले छिमेकीहरु घर–घरमा आएर तपाईंलाई केही भयो भने बालबच्चा र परिवारलाई हामी हेर्छौ भनेर ढाड्स दिन्छन्। तर, नेपालमा सिमित स्रोत र साधनका बीच उच्च जोखिम मोलेर काम गरिरहेका चिकित्सकलाई सम्मान नगरेको देख्दा नरमाइलो लाग्छ।’
काठमाडौंको लैनचौरमा घर भएका प्रकाशले वनस्थली स्कुलबाट एसएलसी र काठमाडौ युनिभर्सिटीबाट सन् २००२ मा एमबीबीएस गरेका थिए। नेपालको मनाङ, कपिलबस्तु र बीर अस्पतालमा गरेर ४ वर्ष काम गरेका उनी २००७ मा अमेरिका आएका हुन्।
अमेरिकामा उनले पेन्सेल्भेनियाको रवर प्याकर अस्पतालमा ३ बर्ष अध्ययन गरे। उनले मेसिगनको ग्रान्ड र्यापिड्स अस्पतालमा २ वर्ष काम पनि गरेका थिए। यसपछि टेक्सासको सान आन्टोनियोमा विश्वविधालयबाट संक्रमण रोग विशेषज्ञको २ वर्षे अध्ययन पुरा गरेका उनी हाल लबकमा विशेषज्ञको रुपमा कार्यरत छन्।
संक्रमक रोग बिशेषज्ञ भएको हुनाले उनलाई कोभिड–१९ कति खतरनाक छ भन्ने कुरामा विशेष दख्खल छ। एकपल्ट संक्रमित भइसकेपछि त्यो बल्झिने सम्भावना कत्तिको रहन्छ भनेर बिएल नेपाली सेवाले गरेको प्रश्नमा उनले भने–भूकम्पपछि पराकम्पन आएजस्तै यो महामारी पुनः कुनै न कुनै रूपमा दोहोरिन सक्छ। त्यसैले हामीले दोस्रो चरणका लागि पनि तयारी गर्नुपर्छ।’
उनका अनुसार अहिले संक्रमितको संख्या थोरै रहेका देशमा परीक्षण कम भएर संख्या कम देखिएको हुन सक्छ। त्यसैले
संक्रमण देखिएको छैन भनेर ढुक्क बस्नु नहुने उनको भनाई छ। उनी भन्छन्– ‘उच्च परीक्षणमा जोड दिनुपर्छ। कन्ट्रयाक ट्रेसिङ गर्नुपर्छ। भाइरसबाट बच्न हातधुने र सामाजिक दूरीलाई कायम राख्नुपर्छ।’
पैसाको अभावमा सामान्य लक्षण देखिएर पनि घरमै बसेकालाई समेत राज्यले खर्च गरेर परीक्षण गरि संक्रमण भएमा ‘क्वारेन्टाइन’ मा राखेर उपचार गर्न सकियो भने संक्रमणलाई रोक्न सकिने उनको सुझाव छ।