जिन मार आङ
म्यानमारको सेनाले फेब्रुअरी १ मा शक्ति हत्याएपछि हामी जनता जीवन–मरणको लडाइँ लडिरहेका छौँ । हामी आफ्नो जीवन जोखिममा पारेर सहर, बस्तीको सुरक्षाका लागि शान्तिपूर्ण प्रदर्शन गरिरहेका छौँ । अहिलेको आन्दोलन कुनै राजनीतिक दल, जातीय समूह वा नेताका लागि नभएर असली संघीय प्रजातन्त्र र स्वतन्त्रताका लागि हो । त्यसैले अहिले हामीमध्ये निर्वाचित प्रतिनिधि प्रत्यक्ष सहयोग मागिरहेका छौँ ।
सेना र सुरक्षा फौजले झन्डै सात सयको ज्यान लिइसकेको छ, जसमा केही दर्जन बालबालिकासमेत छन् । पक्राउ पर्नेको संख्या तीन हजार ५० पुगिसकेको छ । सुरुमा प्रदर्शनकारीमाथि लाठी, केही गोलीबारी तथा धनमाल लुट्ने कार्यमा संलग्न सुरक्षाकर्मी पछिल्लो समय आधुनिक हतियार तथा विस्फोटक पदार्थको प्रयोग गर्न थालेका छन् । अघिल्लो शुक्रबार बागो सहरमा मात्रै ८० जना मारिए । अहिले सेनाले अस्पताल र विद्यालयमाथि कब्जा जमाइराखेको छ र बैंकमाथि कब्जा गर्ने धम्की दिइरहेको छ । ग्रामीण क्षेत्रमा भइरहेका बमबारीका कारण स्थानीयहरू ज्यान बचाउनका लागि गुफा वा छिमेकी थाइल्यान्डको सीमापार भागिरहेका छन् ।
म्यानमारमा चलेको दमन कुनै वैध सरकारको काम नभएर आफ्नै नागरिकमाथि युद्ध घोषणा गरेको सेनाको काम हो । दमनविरुद्ध म्यानमारका सबै पुस्ता, जाति, धर्म, लिंग, क्षेत्र र आर्थिक समूहका जनता एक भएर उभिएका छन् । सुरक्षा फौजले हिंसा बढाएपछि प्रदर्शनकारीले मौन प्रतिरोधका रूपमा केही समयका लागि सडक खाली गरे । साथै, उनीहरूले सडकमा रातो पेन्ट पोखेर पनि सरकारको रक्तपातपूर्ण कदमलाई संकेत गरे । सेनाले देशको अधिकांश भागको इन्टरनेट सेवा काटेको छ । जवाफमा प्रदर्शनकारी हातैले छापिएका पर्चा बाँडिरहेका छन् ।