भोकले भारत पठायो, रोगले फेरि फर्कायो

कामको खोजीमा दुई महिनाअघि भारतको पुना पुगेका अछाम चौरपाटीका मानबहादुर साउद आइतबार कैलालीको त्रिनगर नाका हुँदै घर फर्किएका छन् । होटेलमा वेटर उनले आगामी दसैँमा घर फर्कने सोच बनाएका थिए । तर, महाराष्ट्रमा कोरोना संक्रमण बढेसँगै लकडाउनका कारण जागिर गुमेपछि उनी दुई महिनामै घर फर्कन बाध्य भए ।

एक साताअघि रोजगारी गुमेको मानबहादुरले बताए । ‘कोरोना बढेको भन्दै उता होटेल, बजार सबै बन्द छन् । लकडाउनमा अर्काको देशमा थुनिनुभन्दा आफ्नै देश फर्केँ,’ आइतबार बिहान नाकामा भेटिएका उनले भने, ‘केही महिना काम गर्ने सोच थियो । तर, कोरोनाका कारण होटेल बन्द भएपछि फर्कनुपर्यो ।’ 

उनीसँगै महाराष्ट्रका विभिन्न ठाउँमा काम गरिरहेका चौरपाटीका अन्य चारजना पनि घर फर्किएका छन् । दुई महिनामै फर्कनुपर्दा कमाइ नभएकाले छोराछोरी र परिवारका लागि लुगाफाटोसमेत किन्न नसकेको दुःखेसो उनीहरूले सुनाए । रोजगारी गुमेपछि बर्दिया राजापुरका विष्णु कामी पनि पुनाबाट घर फर्किएका छन् । गत पुसमा भारत गएका उनी होटेलमा काम गर्थे । कोरोना बढे पनि काम चलेको भए उतै बस्ने सोच बनाएका थिए, तर होटेल बन्द भएपछि सात–आठ दिनदेखि बेरोजगार बनेका उनले लकडाउनमा थप समस्या हुने डरले घर फर्किएको बताए । 

नाकामा एन्टिजेन परीक्षण गर्दागर्दै भेटिएका विष्णुलाई घर पुगेर बेरोजगार बस्दा आर्थिक समस्याले सताउने चिन्ता छ । देशभित्र सामान्य कामसमेत नपाएपछि अर्काको देश जानुपरेको गुनासो उनले सुनाए । ‘गरिबीका कारण परिवार पाल्न समस्या भएपछि अर्काको देशमा जानुपरेको हो । के गर्नु, स्वदेशमा काम पाइँदैन । परिवार पाल्नकै लागि पनि जानुपर्ने बाध्यता छ,’ उनले भने । महामारीको अवधि लम्बिएर लामो समय भारत फर्कन नपाए परिवारको गुजारा गर्न नै समस्या हुने उनले बताए ।

प्रकाशित मिति: : 2021-04-19 05:52:00

प्रतिकृया दिनुहोस्