बुध्द एयरले थप नयाँ गन्तव्य विस्तार गर्ने घोषणा गरेको छ।
आइतवार पत्रकार सम्मेलन गरी सो एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले अन्तर–प्रदेश उडान सुरु गर्ने जानकारी गराएका हुन्।
देशमा आएको राजनीतिक परिवर्तन र विकेन्द्रीकरणलाई आत्मसात गर्दै बुध्द एयरले आफ्नो सेवा संघीय राजधानी काठमाडौंबाट मात्र नभई प्रदेश-प्रदेशलाई समेत जोड्न सफल भएको उनले बताए।
बस्नेतका अनुसार, बुद्ध एयरले बैशाख १८ गतेदेखि गण्डकी प्रदेशको राजधानीदेखि प्रदेश २ को सिमरा, प्रदेश नम्बर १ को विराटनगर, लुम्बिनी प्रदेशको नेपालगञ्ज उडान सुरु गर्ने छ भने सोही दिन वागमती प्रदेशको भरतपुरबाट लुम्बिनी प्रदेशको भैरहवाको पनि उडान थाल्ने छ।
अब गण्डकी प्रदेशको राजधानी पोखराबाट विभिन्न प्रदेशहरुलाई जोड्ने गरी बुध्द एयरले परीक्षणको रुपमा उडान थाल्ने भएको हो। बुद्ध एयरले पोखराबाट भैरहवा र चितवन उडान थालेको छ भने विराटनगरबाट तुम्लिङटार सुरु गरिसकेको छ।
प्रबन्ध निर्देशक बस्नेतले पत्रकार सम्मेलनमा बोल्दै बुध्द एयर संक्रमणरहित उडानका लागि सदैव प्रतिबद्ध रहेको छ। 'कम्पनीले कोरोना सहज भएदेखि उडान पुनः सुचारू गरेको दिनदेखि कोभिडविरुद्ध सुरक्षा निर्देशिका, जनशक्तिलाई तालिम, पीपीई प्रदान, वीमा र त्यसै अनुरुपको हवाई सेवा अहिलेसम्म पनि पछ्याइरहेको छ।'
कोरोनाविरुद्धको सुरक्षा अपनाएकोले करोनाअघि र पछिका यात्रु संख्यामा ठूलो अन्तर नदेखिएको समेत बताए। ' अहिले हवाईमार्फत् सेवा लिने यात्रुको संख्या पहिलाको तुलनामा क्रमश: बढेको छ,' उनले भने।
यात्रुहरु हवाइ सेवामार्फत् यात्रा गर्न छिटो र सुरक्षित महसुस गर्न थालेको बताउँदै उनले भने, 'पहिला हवाइ सेवालाई पहुचवाला र विलासी यात्राको रुपमा लिइन्थ्यो, हाल बुध्द एयरबाट सबै तह र तप्काका यात्रुले सवार गरिरहेका छन्। यसको प्रमुख कारण बुध्द एयरले अपनाएको सहज यात्रा र सरल भाडा दर हो।'
करोना महामारीले सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन बुध्द एयरको उडानले पनि भूमिका खेलेको छ। दैनिक १२० भन्दा बढी उडान गर्दै आएको बुद्ध एयरले प्रतिदिन ६५०० जनाभन्दा बढी यात्रु बोक्ने गरेको छ।
यो यात्राले साना होटलदेखि कार, भाडा कारजस्ता साना सवारीहरुले रोजगारी पाएको बस्नेतले बताए।
उडान मिति : १ मे, २०२१ देखि लागू हुने गरी
पोखराबाट - सिमरा, प्रदेश २।
पोखराबाट - विराटनगर, प्रदेश १।
पोखराबाट - नेपालगञ्ज, लुम्बिनी प्रदेश।
भरतपुरबाट - भैरहवा, लुम्बिनी प्रदेश।
नया भाडादर (रुपैयाँ)
Sector Y A B
Pokhara -Nepalgunj 7200 5100 4500
Pokhara - Biratnagar 10800 7600 6000
Pokhara - Simara 6700 4800 4300
Tumlingtar - Biratnagar 3200 2800 2500
Pokhara - Bhairahawa 3900 3600 3100
Bhairahawa – Bharatpur 4000 3000 2500
माथि उल्लेखित अधिकतमदेखि न्यूनतम भाडादर एटीआर-७२ को सञ्चालन खर्चमा आधारित छ। यद्यपि सुरुवाती उडानहरु यही भाडा दरबाट बुध्द एयरले सानो जहाज ‘बीच क्राफ्ट’ बाट गर्ने छ।
यात्रुको माग प्रतिक्रियालाई मध्यनजर गरी आगामी दिनका उडानहरुलाई दैनिक बनाउने र ठूला जहाज एटीआरबाट उडान भर्नेछ। अन्तर–प्रदेशीय उडानलाई प्रदेश सरकार र संघीय सरकारले पनि विशेष सहुलियत दिनुपर्ने बुध्द एयरले विज्ञप्तिमा माग गरेको छ।