विभेद, विवशता र विद्रोह

मन्दिर पस्न तयार पाउ निषेध हुँदा, तिर्खाएकाे घाँटी धारामा राेकिदाँ, गाँसिन लागेको सम्बन्ध ताेडिदिदाँ, भाडामा बस्न तयार मनलाई फर्काइदा, कस्तो हुन्छ हाेला?

कलिला युवाको सामुहिक हत्या हुँदा, लास खाेलामा बगाउँदा, उसको बामे सर्न खाेज्ने छाेराकाे मनमा के बित्ला?

वृद्ध आमाबाकाे लठ्ठी कसले थमाइ देला? परिवारकाे भाेकाे पेट कसले भरिदेला? यी जातीय विभेदकाे अपराध गर्ने मानिस अन्तका काेही हाेइनन्? यी त गाउँका आफ्नै सँधियार छिमेकी हजुरबुबा आमा, काकाकाकी, दाजुभाइ हुन्! जसको माया लाग्छ, आफ्नै लाग्छ। तर यीनले दलित समुदायलाई मनमा कहिल्यै राखेनन्। मिल्नु जुट्नुपर्ने ठाउँमा विभेदकारी रेखाचित्र काेरिदिए। हामी यस्ता तिमी उस्ता, वरपरकाे, मिल्ने नमिल्ने, चल्ने नचल्ने जस्ता ढाेगी कुसंस्कारी चिन्तन राेपिदिए। फलतः एउटै समाजका सह भाषी  धर्मावलम्बी बीच विभाजन बीउ राेपिदिए, बाडिदिए।



जनैधारी प्राणी



विभेदकाे कुरुप चित्रले सारा मानवजातिकाे मानसिकतामा सामाजिक बीस भरिदिएकाे छ। मानिसको साेच विचारमा एउटा भयानक विभेदकारी रेखा काेरिदिएकाे छ। जात लिङ्ग, धर्म वर्णकाे आधारमा, निराधार म सबल, मै अब्बल, मेरो जात धर्म राम्रो भन्ने व्यक्तिवादी र निश्लवादी कुसंस्कारी चिन्तनबाट कथित सभ्य मानव समाजमा शासन गरेको छ।

जसकारण संसारका उत्कृष्ट कहलिएका देशमा समेत विभेदको डरलाग्दो रङ्ग देखिएको छ। भारतीय र नेपाली समाजले अङ्गालेकाे जात व्यवस्थाले समाजमा विभेदको ठूलो खाडल खनिदिएकाे छ। सदियाैंदेखि कथित दलित समुदाय जातीय छुवाछूतको अमानवीय खाडलमा बस्न बाध्य छ। जात व्यवस्थाले सृजना गरेको उच्च जातीय अहंकारी रवैयाले एउटै धर्मावलम्बीबीच जातीय विभेदकारी नीति बनाइएको छ।

जसकारण दिपा नेपाली, करुणा विश्वकर्मालाई कथित दलित भएकाले काेठाबाट निस्कन बाध्य पारिन्छ। जात नमिल्ने, नचल्ने भनेर काेठाकाे लागि अग्रिम भुक्तानी गरिएको रकम फिर्ता गरिन्छ। नवराज विक, सेते दमाई, मना सार्कीकाे निर्मम तरिकाले हत्या हुन्छ।  दिनहुँ दलित विभेदकाे बीस सहदै, पिउँद‌ यहीँ समाजमा बस्न विवश छ।

केही साताअघि नेपाली मुलका उवर चालक शुभाकर खड्कालाई एसियाली मुलकाे मानिस भएको आधारमा अमेरिकी महिलाकाे समुहले गालीगलाेज गरेको भिडियो विश्वव्यापी भाइरल भएको थियो। खड्काले मास्क लगाउने भनेपछि ती महिला निम्न स्तरकाे हर्कतमा उत्रिएका थिए। एक अमेरिकी सञ्चारमाध्यमसँग खड्काले भने अनुसार "अरू कोही मानिस भएको भए तिनीहरूले मलाई त्यस्तो व्यवहार गर्दैनथे। मैले उनीहरूसँग कुरा गर्न जब मुख खोलें। उनीहरूले मलाई आप्रवासी ठानेर डराउन सक्छौं भन्ने ठाने।"



जनप्रतिनिधि, भ्रष्टाचार र नवधनाड्य



त्यस्तै बेलायती राजपरिवारमा पनि रङ्गभेदी टिप्पणीले युवराज ह्यारी र उनकी श्रीमतीले दरबार त्यागेका छन्। डचेस अफ ससेक्स मेगनले लगाएको सबैभन्दा ठूलो आक्षेपमा उनीहरू बाट जन्मिने बच्चा कति अश्वेत होला भन्ने कुराकानी शाही परिवारभित्र धेरै पटक भएको भन्ने छ। मेगनले ओप्रा विन्‍फ्रीसँगको कुराकानीमा शाही परिवारमा उनीहरूको छोरा आर्चीको छाला कति कालो होला भनेर पटक-पटक कुरा भएको आरोप लगाएकी थिइन्। उनले ब्रिटिस राजपरिवारभित्रको जीवन आफ्ना लागि धेरै कठिन भएको र कहिलेकाहीं बाँच्ने इच्छा नै मरेको बताएकी बीबीसीले उल्लेख गरेको छ।

पश्चिमा मुलुकमा वर्णकाे आधारमा गरिने विभेद दरबारदेखि रेल स्टेसन, स्कुल कलेजमा समेत रेसिस्ट अभिव्यक्ति, गालीगलाेज दिने कुसंस्कारी परिपाटी अझै जिवित छ। जसको ज्वलन्त उदाहरण बेलायती राजपरिवारलाई लिनसकिन्छ। नेपाललगायत भारतीय राज्यमा जातको आधारमा गरिने छुवाछूत जस्तो जघन्य अपराध आज पनि अभ्यासमा छ। दिनहुँ लाखौंलाख मानिसले विभेदको पीडा सहनु परेको छ। कतिपय सन्दर्भमा व्यक्ति कथित दलित भएको कारणले गालीगलाेज, कुटपिट र हत्या भएका धेरै घटना हाम्रै अगाडि छन्।

रुकुम सामुहिक हत्याकाण्ड, अंगिरा पासीकाे हत्या, सेते दमाई, मना सार्कीकाे हत्या जस्ता धेरै घटना नेपाली समाजमा घटेका छन्। यी तमाम घटनाको मुल जड भनेको जात हाे, कथित माथिल्लो जात मानिएका बाट कति तल्लो जातका विरुद्ध हुने हिंसा, अपराध, अत्याचार र पाप हाे।

दलितको विवशता 

राजनीतिक दलका प्रतिनिधिले, प्रहरी प्रशासनले, समाजिक अगुवाले दलित समुदायसँग ब्ल्याकमेलिङ र भावनात्मक खेल खेल्ने क्रम बढ्दो छ। समाजिक भाइचाराकाे नाममा कानुनी उपचारको सट्टा "भैगाे नी", जिउँदाका जन्ती मर्दाका मलामी, वल्लाेपल्लाे घर, छिमेकी मिल्नुपर्छ जस्ता कुतर्कले जातीय छुवाछूतका घटनालाई स्थानीयस्तरमा ढाकछोप गर्नेगराउने नयाँ परिपाटी बसालेका छन्। एकाध बाहेक अधिकांश जातीय छुवाछूतका घटना र अपराधी यस्तै ब्लायकमेलिङ र भावनात्मक नाटक, कुतर्कले साम्य पारिएको छ। अपराधीलाई सजायको ठाउँमा सरल उन्मुक्ति दिने शिक्षित जनशक्तिबाट अभ्यास गरेको देखिन्छ। अर्कोतिर दलित समुदायपनि समाजकाे ढरले, धम्कीले जातीय छुवाछूत जस्तो जघन्य अपराध सहन बाध्य छन्। बाेल्नु पर्ने ठाउँमा डरत्रासले चुपचाप सहेर बस्न बाध्य छन्। कयौं ठाउँमा विभेदका विरुद्ध आवज उठाउन खाेज्ने दलित गैरदलितकाे निशाना बनेका छन्। सामाजिक कार्यक्रममा बहिस्करणमा परेका छन्।



हामी कहिल्यै मिलेनौं



कैलालीकि दिपा नेपाली, दाेलखाकी  करुणा विश्वकर्माले आफूमाथि भएको विभेद विरुद्ध कानुनी लडाइँ लड्ने साहस देखाए। दिनहुँ अदालत धाउने आँट देखाए। समाजमा विभेदका विरुद्ध लड्नु पर्छ, लडाइँ लड्न सकिन्छ भन्ने उदाहरण स्थापित गरे। तर धेरै दलित जातीय विभेद सहन विवश छन्। कुटपिट हुने, मारिने, बहिस्कारमा पर्ने ढरले विभेदका विरुद्ध बाेल्ने लड्न डराउने गरेका छन्। अब दलित समुदायले डरत्रासकाे  समाधान खाेज्नुपर्छ। जातीय छुवाछूतका विरुद्ध प्रत्येक नागरिक लड्नुपर्छ, बाेल्नुपर्छ र कुसंस्कारलाई निस्तेज पार्नुपर्छ। घरघरमा समाजिक समानताको पाठ सिकाउनुपर्छ। सबै मानिस समान हुन्न भन्ने अवधारणालाई सरकारले स्थानीय निकायले जनस्तरमा विभिन्न कार्यक्रममार्फत पुर्‍याउनुपर्छ। दीपा करुणाबाट आम दलित समुदायले सिक्नुपर्छ। विवशतालाई विजयमा परिणत गर्नुपर्छ।

माैन दलित समुदाय 

माैनता दलित समुदायको परिचय हाे भन्दा फरक नपर्ला। पीडा सहेर, अमानवीय गतिविधि व्यहाेरेर दलित समुदाय आज पनि माैन छ। चुपचाप बसेकाे छ, सहेर बसेको छ। नेपाली दलित समुदायसँग करिब साठी लाख जनताको आवज छ। राज्यको कुल जनसंख्याको करिब १३% जनसंख्या दलित समुदायले ओगटेकाे छ। हिमालदेखि तराईसम्म छरिएकाे बसाेबास छ। संयुक्तरूपमा दलित समुदाय जाग्ने हाे भने राज्यको कुनै पनि तागतले राेक्न सक्दैन। तर विडम्बना आजकाे मितिसम्म पनि दलित समुदायको सशक्त आवज सुनिएको छैन। संयुक्त रुप देखिएको छैन । माैनता देखिएको छ, चुपचाप बस्ने संस्कार बढेको छ। त्यसकारण दलितमाथि छुवाछूतका घटना घट्नेक्रम राेकिएकाे छैन। सहर बजारका शिक्षित समुदायबाट पनि विभेदका घटना देखिएका छन्।



कर्णालीको कथा



भलै राज्यको प्रत्येक राजनीतिक रुपान्तरणमा दलित समुदायको उपस्थिति र बलिदान याेगदान छ। विगत  सात दशकयता दलित समुदाय सामाजिक स्वतन्त्रता तथा आत्मसम्मानकाे लागि राजनीतिक तवरमा लड्दै आएकाे छ। तर राज्य संयन्त्र अङ्गमा भने दलित उपस्थिति  एकदम झिनाे छ। दलितका मुद्दा झक्झकाउने जमात एकदम कम छ। आज पनि प्रमुख राजनीतिक दलका मुख्यमुख्य पदमा दलित समुदायलाई स्थान छैन। जसको प्रत्यक्ष असर नीति निर्माण तहमा देखिएको छ। अर्कोतर्फ  मलाई अधिकार चाहियो अब त अति भयो भनी प्रतिप्रश्न गर्ने जनसंख्या कम छ। माैन बस्न मनपराउने दलितको जमात ठुलो छ। यस्तै जमात र परिपाटीले गैरदलितलाई फाइदा पुगेको छ। भलै संविधानका पानामा  छुवाछूत सम्बन्धि ऐनकानुन बनेको छ तर त्यसको उचित अभ्यास देखिदैन।  फलतः  जातीय भेदभावका अपराधी कानुन कठघरामा नपुग्दै सजिल्यै उन्मुक्ति पाएका कयौं उदाहरण समाजमा छन्। जसकाे मुल कारण भनेको दलितको माैनत हाे। मैन बस्ने परिपाटी हाे।

रमिते गैरदलित समुदाय 

दलितका सवालमा गैरदलित समुदायको प्रगतिशील एवम् बाैद्विक वर्ग दलितका मुद्दामा बेलाबखत वकालत एवम् लेखन कार्यमा क्रियाशील देखिए पनि ठूलो हिस्सा भने त्तजकाे मितिसम्म रमिते देखिएको छ। ससाना राजनीतिक मुद्दामा सडकमा आगाे बाल्ने युवा दलितका मुद्दामा रमिते हुन्छ। दलितमाथि भएका विभेदका घटनामा बाेल्दैन। त्यसबखत उसलाई जातका कुरा मनपर्दैन।

वास्तवमा दलित समुदायमाथि अमानवीय गतिविधि बढ्नुमा रमिते गैरदलित समुदाय जिम्मेवार छ। जातीय छुवाछूत जस्तो अपराधलाई ढाकछोप गर्ने, नदेखेझैं गर्ने, भैहाल्छ नि भन्ने गैरदलित समुदायको मानसिकता डरलाग्दो छ। सहर बजारमा, संघीय राजधानीमा शिक्षित परिवारबाट जातीय छुवाछूत तथा विभेदका घटना घटेका छन्। यस्ता घटनाका एकपछि अर्को घट्नु पनि रमिते परिपाटी हाे। आजकाे मितिसम्म जातीय छुवाछूतका  विरुद्ध कति गैरदलितले आवज उठाए? जातीय छुवाछूत जस्तो अपराध अभ्यास गर्नेका विरुद्ध उसका कति छिमेकीले दलितको साथ दिए, न्यायकाे पक्षमा बाेले? विडम्बना गैरदलित यस्ता घटनामा विरलै बाेल्छन्। जसकारण छुवाछूतका घटना घट्नेक्रम राेकिएकाे छैन। विभेद विरुद्ध बाेल्ने आवज बढेको छैन। जबसम्म गैरदलित समुदाय दलितमाथि घट्ने जातीय विभेदका घटनाबारे बाेल्दैन, दलितको पक्ष लिदैन, कानुनको साथ दिदैन, आफ्नाे समुदायलाई चेतावनी दिदैन तबसम्म जातीय छुवाछूतका घटना राेकिदैन। गैरदलित समुदायले रमिते परम्परा त्यागी मानवीय हितको लागि नलडेसम्म छुवाछूतका घटनाको समाधान नहुने पक्का छ।



जात व्यवस्था खारेज गर



नेपाल जस्तो सानो भूगोलमा, करिब तीन करोड जनसंख्यामा गैरदलित समुदाय जातीय छुवाछूतका घटनामा चुपचाप बस्नु भनेकाे रमिते हुनु हाे। रमिते परिपाटीले जातीय छुवाछूतका अपराधीलाई अपराध गर्न मद्दत गर्छ। अर्कोतिर नश्लवादी कथित उच्च जातीय अहंकारी रवैयालाई टेवा पुग्छ। अब गैरदलित समुदायले "पाप छान्ने कि पाप फाल्ने" बीच राेज्ने बेला आएकाे छ। रमिते हुने कि कुसंस्कार विरुद्ध लडाइँ लड्ने, छान्ने बेला आएकाे छ। जातीय छुवाछूत विरुद्धको लडाइँ दलित, गैरदलितबाट संयुक्तरूपमा लड्नु पर्ने देखिन्छ। दलितको एकल लडाइँले त्यति प्रभावकारी भएन। घटना घट्ने क्रम राेकिएन। अब संयुक्त लडाइँको आवश्यक छ। अन्यथा रुकुम घटना दाेहाेरिने छ। भेरीमा कलिला युवालाई ढाेरिले बाँधिएका लास बगिरहने छन्।

विद्रोह कहिले ?

करिब सात दशकको राजनीतिक संघर्षका बाबजुद दलित समुदायको सामाजिक अवस्था उस्तै छ। तुलनात्मक रुपमा हिजोभन्दा आज विभेदका घटनामा कमि देखिएपनि छुवाछूत यथावत रहेको छ। कयौं स्थानमा अझैसम्म धार्मिक कार्य तथा मठमन्दिर, धारामा निषेध छ। अन्तरजातीय प्रेमले कतिकाे ज्यान लिएको छ। कति विस्थापित भएका छन् , कथित दलित भएकै कारण! आजकाे मितिसम्म दलित समुदायमाथि जातीय विभेदले निरन्तरता पाउनु भनेको दलित समुदायमा विद्रोही भावकाे कमि हुनु हाे। विद्रोह कथित धार्मिक समाजिक मुल्यमान्यताका विरुद्ध हुन आवश्यक छ। दलितहरु मन्दिरमा राेकिन्छन्, पानी पँधेराेमा कुटिन्छन्, सम्बन्ध गासेकाे आधारमा हत्या हुन्छ। तर विडम्बना दलित समुदायले त्यस्ता घटनाका विरुद्ध देशव्यापी विद्रोह गरेको, प्रतिकार गरेको सायदै कुनै घटना हाेला। गैसस र राजनीतिक दलका भातृ संगठनले घटना पश्चात् दुईचार दिन सडकमा नारा लगाउँछन्। मिडियाले जातीय विभेदका घटनालाई स्थान दिन्छ। तर गैरदलित समुदायमा दलितमाथि थिचोमिचो गर्दा फरक नपर्ने रहेछ भन्ने अहंकारी साेच स्थापित भएको देखिन्छ। त्यस्ता विभेदकारी मानसिकता विरुद्ध संयुक्तरूपमा दलित समुदायको आवज सुनिदैन, विद्रोह देखिदैन। अर्कोतिर दलितमाथि पेलेरै कुसंस्कारलाई यथावत राख्नुपर्छ भन्ने गैरदलित समुदायमा अमानवीय मानसिकता विकास भएको देखिन्छ। यसकारण पनि जातीय सवालमा दलितमाथि गैरदलित समुदायको दबदबा बढेको देखिन्छ।



छाउपडी प्रथा र धामीझाँक्री



दलित नेतृत्वमा सामाजिक धार्मिक र राजनीतिक तवरमा विद्रोही भावकाे एकदम कम छ। देशमा भएका  विभिन्न राजनीतिक परिवर्तनमा दलित समुदायको बलिदान रहेको छ। चुनावताका दलितका भाेटले जित हारमा अहम् भूमिका खेल्ने गरेको छ। तर अझै पनि दलित समुदायले राजनीतिक पार्टीमा उचित स्थान पाएको छैन। दलित नेतृत्वले संघर्ष र निरन्तर राजनीतिक लडाइँ लडे पनि राजनीतिक दलले सधैं किनारमा राख्दै आएका छन्। क्याविनेटमा हाेस् या केन्द्रीय कमिटीमा दलित प्रतिनिधित्व सधैं कम हुने गरेको छ। यति हुँदाहुँदै पनि दलित नेतृत्वले कहिले विद्रोह गरेन। जे भूमिका पायो त्यसैमा चित्तबुझाएर बसेका छन्। फलस्वरूप आजकाे मितिमा दलित उपस्थिति न्यून रहेको छ। दलितको प्रतिनिधित्व गराइएका दलित नेतालाई पनि आखापाखा लगाउने र उचित भूमिका नदिएको स्पष्ट देखिन्छ। तर पनि दलित नेतृत्व विद्रोह गर्दैन। यस्तै परिपाटीले दलित यस्तै हुन् यिनलाई यस्तै भूमिका दिदा फरक नपर्ने रहेछ भन्ने राजनीतिक पार्टीमा देखिएको छ। त्यस्तै परिपाटी समाजमा देखिएको छ। याे मानसिकताको विकास हुनुमा, याे  अवस्था आउनुमा दलित प्रतिनिधिमा विद्रोही चेत नभएकोले हाे। यधपी दलित समुदायले अब विभेदका विरुद्ध चेतावनी दिनुपर्छ। राेकिएका, छेकिएका ठाउँमा विद्रोह गर्नुपर्छ। विद्रोहले विस्फोट गराउँछ, राेकिएकाे, छेकिएकाे ठाउँ खुल्ला गर्छ।

अन्ततः जातीय छुवाछूत भेदभाव जस्तो मानव जातीयभित्रकाे अमानवीय कुसंस्कारलाई सदाको लागि अन्त्य गर्न सबै नागरिक जागरुक हुनुपर्छ। दलित समुदायको नेतृत्वमा गैरदलित समुदायको साथ र समर्थन आवश्यक रहेको देखिन्छ। दलित र गैरदलितकाे एकताले, एक्यवद्धताका विभेदकारी कुरीति कुसंस्कारकाे अन्त्य गरिनुपर्छ। दलितमाथि हुने विभेदका विरुद्ध गैरदलित बाेल्नुपर्छ, लड्नुपर्छ। चुपचाप बस्ने परिपाटी त्याग्नुपर्छ, सहिलाई सहि, गलतका गलत भन्ने आवज बढ्नुपर्छ। अर्कोतिर दलित समुदायमा पनि विद्रोही चेत र जागरुकताकाे हुनुपर्छ। विभेदका विरुद्ध जाेडताेडका साथ लडाइँ लड्नुपर्छ भन्ने चेतनाको विकास हुनुपर्छ। अनिमात्र आत्मसम्मान सामाजिक स्वतन्त्रताको स्थापना गर्नसकिन्छ। जसरी मार्टिन लुथर किङले सपना देखेका थिए त्यस्तै सपना आम नेपालीले देख्न आवश्यक छ। त्यसपश्चात सुख समृद्धि एकता भाइचारा देशमा देखिने छ। अन्यथा रुवाणडा इराककाे चित्र नेपालमा नदेखिएला भन्न सकिन्न।


मनुस्मृतिको भुङ्ग्रोमा मानवीय संवेदना

प्रकाशित मिति: : 2021-04-18 14:30:00

प्रतिकृया दिनुहोस्