कानुनी रूपमा जोसँग जे गर्ने लाइसेन्स हुन्छ, उसले त्यही गर्न पाउँछ। भन्नुको मतलव जोसँग बाइकको लाइसेन्स छ, उसले बाइक चलाउन पाउँछ। जोसँग शिक्षकको लाइसेन्स छ, उसले पढाउन पाउँछ। जोसँग अधिवक्ताको लाइसेन्स छ, ऊ वकालत गर्छ। तसर्थ अनुपतिपत्र वा लाइसेन्सका आधारमा हरेक व्यक्तिले त्योसँग सम्बन्धित काम गर्न पाउँछ। यदि लाइलेन्स विना कुनै काम गरिएमा त्यो अवैध मानिन्छ। जस्तो डाक्टरसँग मेडिकल काउन्सिलको लाइसेन्स हुन्छ, ऊ चिरफार गर्न पाउँछ। नत्र त उसले पेट चिर्नु र अपराधीले कसैको पेटमा छुरी धस्नु उस्तै मानिन्छ।
तर नेपालको तथाकथित माथिल्लो जातद्वारा बिना लाइसेन्स कथित तल्लो जातको हत्या, शृंखलाबद्ध चलिरहेको छ। यस्तो किन भइरहेको छ? के छ यसको पछाडि त्यस्तो के छ जसले मानव हत्याका शृंखला चलाइरहन्छ? प्रभुत्ववादका संस्थापक ग्राम्सी भन्छन्ः ‘शासकले शासन दुई कुराले चलाउँछ। जुन अस्त्र र शास्त्र हुन्। अस्त्रको रुपमा राज्यका निकाय भनिएका सेना, प्रहरी, अड्डा, अदालत रहन्छन् भने शास्त्रका रूपमा वेद, पुराण, बाइबल, आदि।’
नेपालको सन्दर्भलाई हेर्दा शासन शास्त्रद्वारा चल्यो। नेपालमा मध्यकालीन राजा जयस्थिति मल्लले ‘मानव न्यायशास्त्र’ बनाए। नाम ‘मानव न्यायशास्त्र’ भए पनि त्यो मनुस्मृतिको दोस्रो संस्करण बन्यो। जो दलितमाथि गरिने दमनलाई मान्यता दिन बलियो आधार बन्यो। पछि जंगबहादुर राणाको पालामा बनेको मुलुकी ऐनले यसलाई सहिंताबद्ध गर्ने काम गर्यो।
कथित तल्लो जातिका निम्ति बनाइएका दण्ड विधानबाट दलितहरू पीडित बने। २००७ सालको राजनीतिक परिवर्तन पश्चात हालसम्म धेरै चुनाव भए। ती सबै चुनावहरुमा जातीय रुपमा पीडित बनेकालाई भोट बैंकको रुपमा प्रयोग गरेर कथित माथिल्लो जातले सत्तामा जाने भर्याङ बनाए। सत्ता हत्याउन मुखमा न्याय र समानताको नारा लगाएका कथित माथिल्लो जातको मस्तिष्कमा मनुस्मृति पिपलको जरा जसरी गाडिएको कुरा पश्चिम रूकुममा जेठ १० गते घटेको घटना र घटना पश्चात जनार्दन शर्माले संसदमा दिएको अभिव्यक्तिले पुनः प्रमाणित गर्यो। {हेर्नुहोस् भिडियो}
मनुद्वारा रचित ‘मनुस्मृति’ (इ.पू२००–३००) ब्राह्मणवादी सत्ताद्वारा समाज चलाउने विद्यान हो। जसरी दोस्रो विश्व युद्वमा हिटलरले आर्यहरु मात्र शुद्ध रगतका मान्छे हुन्। संसारभर शासन आर्यहरूको हुनपर्छ भन्दै यहुदीलाई मारेको थियो। त्यसैगरी मनुस्मृतिले ब्राह्मणलाई उच्च स्थानमा राख्यो र अनार्यलाई मानवको दर्जा दिन अस्वीकार गर्यो। त्यसले मानवलाई चार वर्णमा विभाजन गर्यो। ब्राह्मणलाई सबैभन्दा माथि राखि क्षेत्री, वैश्य र शुद्रलाई आफू भन्दा मूनि राख्यो। आफू भन्दा मूनिको वर्णलाई यिनीहरु हाम्रो सेवाको लागि जन्मेका हुन्न् भन्ने ब्राह्मणवादले शुद्रलाई त अझ पैतालाको धुलो वा कसैले छुन नहुले अछुतको संज्ञा दियो।
ब्राह्मणलाई सर्वोपरी मान्ने वातावरण बनाउनको लागि राज्यद्वारा नै कानुन बनाएर जाति प्रथालाई संस्थागत गर्यो। जयस्थिति मल्लले यस कुरालाई आत्मसाथ गर्दै नेपालमा जातको विभाजन गरे। मनुस्मृति ब्राह्मणवादको विद्यान त बन्यो नै त्योसँगै हिन्दु धर्म पनि गतिलो हतियार बन्यो। जसले वर्ण व्यवस्था भनेको त ईश्वरको आदेश हो भन्यो। ब्राह्मणलाई विशेष अधिकार प्राप्त व्यक्तिको रुपमा लिएको मनुस्मृतिले वर्णलाई जातमा विभाजन गरिसकेपछि ती जातहरुको बीचमा समाज विरोधी भावना पैदा गरायो। स्त्रीलाई र शुद्रलाई हेयको दृष्टिकोणले हेर्यो।
मनुस्मृतिले मुख शरीरको सबै भन्दा सर्वश्रेष्ठ अंग भन्यो। जहाँबाट ब्राह्मण जन्मिएकोले उसलाई ज्ञान आर्जन गर्ने, यज्ञ गर्ने र दान लिने लगाएतका काम गर्न पाउने भन्यो। बाहुलाई बलको प्रतिक भन्यो र त्यसबाट क्षेत्रीको जन्म भएकाले उसलाई राजपाठ र युद्व गर्ने काम तोक्यो। श्रमको प्रतिक जांगलाई मानेर वैश्यले व्यावसाय गर्ने भन्यो र पाउबाट जन्मिएकाले शुद्रले सबैको सेवा गर्ने काम तोक्यो। यीनै कुराका आधारमा चलेको समाजमा ब्राह्मणले क्षेत्री र वैश्यसँग बिहेवारी नगर्ने, उनीहरूकोमा खानपिन नगर्ने जस्ता कुरालाई लिएर विभेद गर्यो भने शुद्रलाई त सबै कुरामा विभेद गर्यो।
प्राक्–मौर्यकालमा शुद्रका निम्ति तोकिएको तल्लोस्तरको श्रम विभाजनलाई उल्लंगन गर्न नमिल्ने बनाउन वर्णव्यवस्था लागू गरिएको थियो। शुद्रमाथि सम्पूर्ण आर्थिक, राजनीतिक, कानुनी एवं सामाजिक र धार्मिक अशक्तता थोपरिए। (Sharma, Ram Sharan. 1980. Shudras in Ancient India. Delhi: Motilal Banarasidass) मुलत दलितहरू पेसा परिवर्तमा स्वतन्त्र भएनन्, धन आर्जन गर्ने लगायतका काममा बाधा भयो। शुद्रले धन सञ्चय गर्न पायो भने ब्राह्मणलाई सताउँछ, भन्ने भाष्य निर्माण गरियो। उसको धन कुकुर र गधालाई मात्र मानियो। यदि केही गरी उनीहरुले आर्जन गरेको धन ब्राह्मणले चाहे जुनसुकै समयमा खोसेर लिन सक्ने भयो। शुद्रको आफ्नो केही पनि नहुने र यदि भएमा सबै उसको स्वामी (ब्राह्मण) को हुने कुरा लागू गरियो।
कुनै पनि हालतबाट स्वतन्त्रता नपाएका शुद्रको हत्या गर्नुलाई प्राश्चितको विषय बनाइएन। मानव हृदयबाट टाढा रहेर कोरिएको मनुस्मृतिको आठौं अध्यायको ३६६ औं पदमा भनिएको छ, ‘शुद्रको हत्या गर्नु भनेको बिरालो, भ्यागुता उल्लु, छेपारोको हत्या गर्नु समान हो। यी जीवहरुको हत्या गर्दा जुन किसिमको प्रायश्चित हुन्छ त्यही प्रायश्चित शुद्रको हत्यामा हुन्छ।’ परिणाम आज पनि अजित मिजार र लक्ष्मी परियारलाई हत्या गर्नेहरु खुलेआम गर्वका साथ हिँडिरहेका छन्।
यहि मान्यता बोकेर अघि बढेको समाजले रुकुममा कथित माथिल्लो जातकी छोरीसँग दलितले राखेको प्रेमसम्बन्ध र तत्पश्चात गर्न खोजेको विहेलाई रोक्ने माध्यम हत्यालाई बनायो। उक्त हत्या आफू अपराधी हुन नसक्ने सोच्यो। त्यो हत्यामा मानवीय संवेदनाले त एक इन्चसम्म काम गरेन। जसको उदाहरण रातको बीचमा हत्याराले लासलाई देखाउँदै ‘ओ गाइज यहाँ त लास छ’ भन्दै लास देखाएर सेलिव्रेसन गरे।
आफ्नो पुस्तक ‘नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्ष’ मा विश्लेषक आहुति लेख्छन्, ‘आज पनि कथित माथिल्लो जातका थुप्रै मानिसहरु दलितलाई हेप्नु, दमन गर्नु र अपमानित गर्नु लगाएतका कुरामा आफ्नो अधिकार वा कर्तव्य सम्झन्छन्। त्यसैले कथित माथिल्लो जातका व्यक्तिद्वारा अन्तरजातीय विवाह गर्ने जोडीलाई हाकाहाकी हत्या समेत हुन्छ।’ अनि दलित समुदायले महाभारतको जस्तो हत्याका दृश्यहरुको मुखदर्शक बन्नु परिरहेको छ। हरर फिल्मका दृश्यहरुमा देखाइने निरिह पात्र जस्तो हुनु परिरहेको छ।
शासकले दलित समुदालाई खोक्रे कानुनी आजादी दिएको पनि आज ५७ वर्ष पुरा भएको छ। तर ‘खोलाका ऐन भन्दा, दराका चैन ठूलो’ मान्ने समाजले समानताको नारालाई ‘स्यालको सिङ’ जस्तो कहिले नपाइने बनाइदियो। यसले समानताको कुरा त के बोल्ने स्वतन्त्रता समेत मिलेन। यस बीचमा देशको राजनीतिले शासनसँगै नेता बदल्यो। केही पार्टीहरू बदलिए। बन्दुकको नालबाट सत्ता हत्याउने शक्तिले युद्व छेड्यो। तत्पश्चात राजा गए तर एक राजाको ठाउँमा अनेक राजा आए। उनीहरुका दरबार थपिए। उनैको संलग्नताको संसदले कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब छुवाछूत हुने छैन भनेर २१ जेठ ०६३ मा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा गर्यो।
त्यतिमात्र होइन, २०६८ जेठ १० गते संसदले जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय ऐन समेत पास गरेर हत्याराको मुखौटामा प्रगतिशिलताको लेपन लाउन खोजेकै हो। तर धारो छोएको निहुँमा। चुलो छोएको निहुँमा हत्या। बलात्कार पश्चात हत्या। अपहरण पश्चात हत्या। बोक्सी भएको आरोपमा हत्या। अन्तरजातीय बिहेमा हत्या। प्रेममा हत्या। हत्यै हत्या। नौ वर्षको अवधिमा १७ वटा हत्या भयो। सैद्धान्तिक रुपमा स्खलित शक्तिले चलाएको सत्तामा कथित माथिल्लो जातिले हत्या शृंखला चलाइरहयो।
चुलो छुन र प्रेम गर्न, सार्वजनिक धारो छुन निषेध गरिएको दलित समुदायका किशोरीलाई कथित माथिल्लो जातकाले बलात्कार भने गरिरहे। बलात्कारपछि न्याय पाउनुको सट्टा युवतीहरूको ज्यान लिनु पनि उनीहरुको अधिकार क्षेत्रकै कुरा हुन्छ, र त यही नौ वर्षमा मात्र चार युवतीको बलात्कारपछि हत्या भयो। यीनैको चाँङमा थपिएको एउटा अर्को हत्या काण्ड हो पश्चिम रूकुम घटना। यो कुनै आवेगको कुरा होइन। यो त बिना लाइसेन्सवाला हत्याको निरन्तरता मात्र हो, कथित माथिल्लो जातको लागि।
तर आम मान्छेको नजरमा यो घटना, घटना मात्र नभएर सामूहिक नरसंहार हो। जातीय आधारमा दलित माथि सदियौँदेखि भइरहेको ज्यादती डरलाग्दो प्रमाण हो। अर्को पक्ष घटनास्थल तत्कालीन माओवादी युद्वको आधारभूमी हो। छुवाछूत बर्जित गरिएको जिल्ला पनि हो। यसले जनवादी व्यवस्थाको वकालत गरेर लडाइँ छेडेको तत्कालीन माओवादीको सैद्धान्ति धराताल कति कमजोर रहेछ भन्ने कुरालाई प्रष्टाइदियो। सगरमाथाको देश भनेर उठाएको शीरलाई जातीय क्रुररताले नालीमा पुर्याइदियो। कोराना भाइरसले सृजना गरेको स्थितिलाई लिएर भारतका प्रख्यात कलाकार नाना पाटेकरले प्रश्न गरे, ‘एक भाइरसले सबैलाई अछूत बनाइदियो। अलिकति सोचौं त, त्यो समाज कसरी बाँच्यो होला? जसलाई हजारौं वर्षदेखि अछूत बनाएर राखिएको छ।’ यसको जवाफमा कथित ‘छुत’ भनाउँदालाई टिकाइ राख्ने सरकार मौन छ ।
तसर्थ, मनुस्मृतिद्वारा चलेको समाजका अगाडि कानुन कति निरही हुन्छ भन्ने कुरा नेपालमा बनेको मुलुकी ऐन (२०२०), नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा (२०६३), जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन (२०६८), नेपालको संविधान २०७२ को मौलिक हकमा धारा १६को सम्मानपूर्वक बाच्न पाउने हक र धारा १८को समानताको हकको कार्यान्वयलाई हेरे पुग्छ। जो ‘कागलाई वेल पाग्यो हर्ष न विस्मात’ भन्ने उखान जस्ता बनेका छन्।
मान्छे जन्माउने अंग र जन्मने प्रक्रिया जीवजिज्ञानले प्रमाणित गरीसकेको छ। तथाकथित ब्राह्मण होस् वा शुद्र मान्छे कहाँबाट जन्मिन्छ भन्ने प्रमाणित भएसँगै मनुस्मिृति निस्क्रिय हुनुपर्ने हो। स्खलित भइसकेको मनुवाद र मनृस्मितिलाई खारेज गरेर राज्य नयाँ राजनीतिक प्रणाली अनुसार अगाडि बढ्नुपर्ने हो। धर्म निरपेक्ष भइसकेपछि राज्य धर्मभन्दा माथि उठ्नुपर्ने हो। तर राज्य, शासक र समाज सबैतिर मनृस्मृतिले जरा गाडेको कारण दलित समुदायले अपमान भोगिरहनु परेको छ।
यस्तो स्थितिमा आज हाम्रो शासकका अगाडि केही सवालहरू खडा भएका छन् जुन सवाल आहुतिले आफ्नो कविता ‘गहुँगोरो अफ्रिका’ केही हरफहरु मार्फत गरेका छन्ः
कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर
कि मेरो अपमान गर्ने शास्त्रका पानालाई च्यात्ने या
जलाउने साहस गर
मलाई तिमी कसरी ‘अछुत’ बनाउन सक्छौं ‘छुत’ मान्छे ?
कि इतिहासको कठघरामा उभिने आँट गर
कि आफूलाई बदल्ने साहस गर
भारतको संविधान निर्माता डा. भिमराव अम्बेडरकरले संविधान सभाको अन्तिम सम्बोधनमा भनेका थिए, ‘हामीले हाम्रो राजनीतिक लोकतन्त्रलाई सामाजिक लोकतन्त्र पनि बनाउनै पर्छ। राजनीतिक लोकतन्त्रको जगमा सामाजिक लोकतन्त्र नभए त्यो टिकाउ हुँदैन। सामाजिक लोकतन्त्रको अर्थ के हो? यसको अर्थ एउटा यस्तो जीवनशैली जसले स्वतन्त्रता, समानता, भातृत्वलाई जीवनका मान्यताको रुपमा स्वीकार गर्छ।’
आज हामीले स्वीकारेको लोकतन्त्रले विना लाइसेन्स हत्या गर्ने जल्लाद उत्पादन गर्ने हो कि, अम्बेडकरले भने झैं राजनैतिक लोकतन्त्र मात्र नभएर सामाजिक लोकतन्त्र सहितको शासन पनि चलाउने हो?