हाम्रो नेपाली सिनेमामा लाहुरे पात्रलाई बढाइचढाइ गरिएको छ । बहादुरी देखाउँदा पनि आवश्यकताभन्दा ज्यादा र मूर्खता देखाउँदा पनि त्यसरी नै देखाइएको छ । त्यसकारण हाम्रो सिनेमामा लाहुरेको अनुहार आउँदैन । युद्धमा जानु बहादुरी मात्रै होइन, मानवीयताको कुरा पनि हो । लाहुरेको कथा आउँदा उनीहरूको संवेदना, वास्तविक मुद्दा पनि आउनुपर्छ । हाम्रो सिनेमा त्यहाँ चिप्लिएको छ ।
सिनेमा मात्रै होइन, राज्य र बुद्धिजीवीले पनि लाहुरेप्रति गलत भाष्य निर्माण गरिदिएका छन् । ‘भाडाको सिपाही’ भनेर गलत सम्बोधन गरिन्छ । ब्रिटिस गोर्खा भर्ती सुगौली सन्धि (१८१६) पछिका कुरा हुन् । तर, सुगौली सन्धिअघि नेपालीहरू पञ्जाबसम्म भाडामा गएर लडेका छन् । मुगलहरू नेपाल आएका छन् । त्यसवेला अहिलेजस्तो सीमारेखा थिएन, राज्य संरचना थिएन र भाडामा जान्थे उनीहरू । सुगौली सन्धिपछि पनि भर्तीका रूपमा वीरशमशेरको पालापछि मात्रै स्विकारिएको छ । तर, त्यसअघि त भागेर भर्ती हुन गएका छन्, इस्ट इन्डिया कम्पनीमा । त्यसरी जाँदा नेपालमा सर्वस्वहरण पनि गरिएको छ ।
गोर्खा भर्तीले वैधानिकता पाएपछि नै त्यसलाई राष्ट्रवादसँग जोडियो । एउटा देशको नागरिक अर्को देशमा गएर लड्ने ? भनेर तर्क गर्न थालिए । त्यो समयको चेतनामा सही थियो होला, तर अहिले आएर यो गलत तर्क हो । अमेरिका गएर माइक्रोसफ्ट कम्पनीमा काम गर्दाचाहिँ महान् काम, भर्तीमा जाँदा चाहिँ खराब ? जो अहिले पनि अफगानिस्तान पुगेर शान्तिका लागि उभिन्छन्, उनीहरू कसरी खराब भए ? कि भन्न सक्नुपर्यो– गोर्खा भर्ती खराब हो भने बाहिर जानु नै खराब हो । अहिलेको समाजले त्यसो भन्न सक्छ त ? सक्दैन । अहिले जस्तो किसिमको सामाजिक–आर्थिक परिस्थिति निर्माण भएको छ, जहाँ सही र गलत भन्नु अनावश्यक विषय हो ।
सन् १९४७ पछि बेलायतले चारवटा जातिलाई आफ्नो सेनामा समावेश गर्यो– मगर, राई, लिम्बू र गुरुङ । तर, भारतीय सेनामा अरू जाति पनि धेरै नै गएका छन् । दोस्रो विश्वयुद्धपछि जब भारत स्वतन्त्र भयो, दशमध्ये बेलायतले चारवटा रेजिमेन्ट लिएर गयो । ६ वटा भारतमै रह्यो । त्यसमा पनि दुईवटा रेजिमेन्ट विशेष गरेर खसहरूका लागि थियो । अहिले पनि ठकुरी, क्षेत्री भारतीय सेनामा ठूलै संख्यामा छन् । तर, उनीहरूलाई ‘भाडाको सिपाही’ भन्ने भाष्य राज्यले निर्माण ग¥यो । यस्तो भाष्य बनाइनुमा राज्यको आफ्नो कमजोरी लुकाउने नियतबाहेक केही छैन । राज्यले जागिर दिन सक्दैन थियो त्यो वेला, अहिले पनि दिन सकेको कहाँ छ र ! अनि भर्ती बन्द गर्न पनि नसक्ने, भाडाको सिपाही पनि भनिरहने । यसमा राज्यको दोहोरो चरित्र देखिन्छ । पछि कम्युनिस्टले पुँजीवादी खेमामा बेलायत गयो भनेर यो भाष्यलाई प्रचार गरिदिए । तर, गोर्खाहरूले बेलायतमा प्रजातन्त्रको अभ्यास भइसकेपछि लडेका थिए, यो इतिहास बिर्सिनुहुँदैन ।