उपभोक्तामाथि दराजको ठगीधन्दा– स्पिकर मगाउँदा महिलाको भित्री वस्त्र 'ब्रा डेलिभरी’ !

लोकान्तर

काठमाडौं

बिहीवार दिउँसो १२ बजेर ५७ मिनेटको समयमा कृष्ण आचार्यले आफ्नो फेसबूक वालमा एक तस्वीर शेयर गरे । 

तस्वीरमा दराज अनलाइनबाट सामान किन्दा महिलाको भित्री वस्त्र ‘ब्रा’ आएको देखाइएको थियो । 

उनले तस्वीरको क्याप्सनमा लेखेका थिए, ‘दराज एपबाट स्पिकर अर्डर गरेको महिलाले लगाउने ब्रा ल्याइदिसियो । म के गरुँ ?’

उनको यो स्टाटस केही समयमै भाइरल भयो । 

बुधवार आचार्यले दराज एपमार्फत फेनटेक गेमिङ स्पिकर अर्डर गरेका थिए । जसको मूल्य १ हजार ६६ रुपैयाँ राखिएको थियो । 

दराजले बिहीवार उनलाई सामान त डेलिभरी गर्‍यो तर महिलाले लगाउने ब्रा पठायो । 

स्पिकर अर्डर गर्दा ब्रा पाएपछि एकातिर अचम्मित बनेका उनले डेलिभरी ब्वाइलाई सामान फिर्ता लैजान भने । तर डेलिभरी ब्वाइले त्यो सामान आफ्नो नभएको भन्दै फिर्ता लान मानेनन् । 

लोकान्तरसँग आचार्यले भने, ‘उनले सामान फिर्ता त गरेनन् तर ढुक्कका साथ कम्पनीले नै आफूलाई सोही सामान पठाएको बताए ।’

डेलिभरी ब्वाइले सामान फिर्ता नलगेपछि तत्कालै उनले कम्पनीको बेवसाइटमा फोन नम्बर खोजे, तर भेटेनन् । पछि फेसबूकबाट कम्पनीलाई फोटोसहित म्यासेज गरे । 

दराजले अटोमेटिक सिस्टममार्फत म्यासेज पठायो, तर थप रेस्पोन्स गरेन । केही समयमै उनको सामान फरक परेको सामाजिक सञ्जालमा भाइरल भयो । 

दराज अनलाइनमा कम्पनीको सम्पर्क नम्बर नभेटेपछि उनले इन्क्वाइरी नम्बर १९७ मा फोन गरी दराजको नम्बर मागे । 

प्रकाशित मिति: : 2021-04-15 20:37:00

प्रतिकृया दिनुहोस्