पार्टी कामलाई व्यवस्थित गर्न 'एमाले लुम्बिनी'को निर्देशन

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको शनिवार बुटवलमा सम्पन्न सचिवालय बैठकले सबै कमिटीहरुलाई आयोजक कमिटी बनाउँने निर्णय गरेको छ। प्रदेश मातहतका जिल्ला कमिटीहरुको बैठक आयोजना गर्ने मिति समेत तय गरेको एमाले लुम्बिनी प्रदेश कमिटीले जनाएको छ।

आगामी चैत्र ३० गते पाल्पा, बैशाख ४ गते कपिलवस्तु, ५ गते दाङ्ग, ९ गते रुकुम पुर्व, १० गते रोल्पा, ११ गते रुपन्देही र प्युठान, १२ गते गुल्मी, १३ गते नवलपरासी, १४ गते बर्दिया, १५ गते बाँके र बैशाख २५ गते अर्घाखाँचीको बैठक आयाजना गरी पार्टी कामलाई ब्यवस्थित गर्न निर्देशन दिएको हो।

प्रदेश र जिल्ला कमिटीहरूको सचिवालय संख्या समेत निर्धारण गरेको छ। बैठकले लुम्बिनी प्रदेश सचिवालय कमिटी ६५ सदस्यीय कायम गरेको छ भने जिल्ला कमिटीहरुको हकमा १ मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा ३१ सदस्यीय, २ वटा निर्वाचन क्षेत्र भएको जिल्लामा ३७ सदस्यीय, ३ वटा क्षेत्र भएको जिल्लामा ४१ सदस्यीय र ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा ५१ सदस्यीय सचिवालय गठन गर्न निर्देशन गरेको संगठन विभाग प्रमुख भूमिश्वर ढकालले बताए।

बैठकले २०७७ चैत्रदेखि २०७८ चैत्र मसान्तसम्मको पार्टी संगठित सदस्यहरुको सदस्यता नविकरण र सोको अभिलेखिकरण समेत गरी असार मसान्तभित्र प्रदेश कमिटीमा पठाउन निर्देशन गरेको छ।

जिल्ला स्तरमा संगठन निर्माण गर्न बाँकी रहेका पार्टी सम्वद्ध जनसंगठनहरुको बैशाख मसान्तभित्र जिल्ला भेला आयोजना गरी कमिटी निर्माण गरिसक्ने निर्णय गरेको छ। कमिटी बनिसकेका जिल्लामा तल्लो तहसम्म संगठन निर्माण अभियान सञ्चालन गर्न र हाल खाली रहेका प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरुको रिक्त स्थानमा जुनसुकै समय पनि उपनिर्वाचन हुन सक्ने भएकाले सो को पूर्ण तयारी गर्न समेत निर्देशन गरेको कमिटीका सचिव खेममान खड्काले बताएका छन्।  

बैठकमा सबै जिल्लाका संयोजकहरुले पछिल्लो विकसित राजनीतिक अवस्थाका बारेमा रिपोर्टिङ्ग गरेका थिए।

एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेलले पार्टी केन्द्रीय कमिटीको निर्णय अनुसार पार्टीको दायित्वबारे चित्रण गरेका छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले विगतमा अलमलिएका, भड्काउपूर्ण चिन्तन र गतिविधिमा सङ्लग्न रहेका नेताहरूलाई पार्टीमा फर्किन आह्वान गरे।

बैठकका प्रमुख अतिथि पोखरेलले विगतका तिक्तता बिर्सेर सबैलाई पार्टीमा स्वागत गरिने र कसैप्रति पूर्वाग्रह नराखिने समेत बताएका छन्।

अध्यक्ष लिला गिरीले एमाले विचारमा आधारित पार्टी भएको बताएका छन्। उनले भने, ‘यो गुटहरूको संयुक्त मोर्चा होइन, अब गुटबन्दीलाई कुनै हालतमा प्रश्रय दिइदैँन।’

गिरीले एमालेका नाममा मनपरी नगर्न आग्रह गरेका छन्। उनले मुलुकमा राजनीतिक हिसावले नयाँ हलचल र अनिश्चितताको माहोल खडा गर्ने प्रयास भइरहेको र अनावश्यक रुपमा बखेडा सिर्जना गरी मुलुकलाई अस्थिर बनाउने दुष्प्रयासका विरुद्ध एकतावद्ध पार्टीको निर्माण गर्दै जिम्मेवार बन्न सबैलाई अपील गरेका छन्। 

बैठकले तोक्यो जिल्ला–जिल्लामा पदाधिकारीः

पश्चिम नवलपरासीको संयोजकमा दिपेन्द्र अधिकारी, सह–संयोजक डोलराज भण्डारी र सचिव राजन कुमार आचार्य चयन भएका छन्। रुपन्देही संयोजकमा शिवराज सुवेदी, सह–संयोजक तेजेन्द्र केसी र सचिवमा बिश्वराज बराल, कपिलवस्तुमा संयोजक झविलाल पोखरेल, सह–संयोजक डम्बर शर्मा र सचिव धर्मराज भुसाल चयन भएका छन्।

दाङ्गमा जिल्ला संयोजकमा हुकुमबहादुर बस्नेत चुनिएका छन् भने सह–संयोजक राममणी पाण्डे र सचिवमा मनोहर बुढाथोकी रहेका छन्। बाँकेमा संयोजक सुर्य ढकाल, सह–संयोजक किस्मत कक्षपति र सचिव प्रमोद धिताल, बर्दियामा संयोजक लालबहादुर श्रेष्ठ, सह–संयोजक शालिकराम अधिकारी र सचिव पदम ढकाललाई चयन गरेको छ।

रोल्पा जिल्लामा संयोजक बालाराम बुढा र सचिव निमप्रसाद रोका, अर्घाखाँचीमा संयोजक चेतनारायण आचार्य, सह–संयोजक  पिताम्बर भुसाल (ख) र सचिवमा तोजबहादुर रायमाझी, गुल्मीमा संयोजक मधुकृष्ण पन्त, सहसंयोजक  बालसिंह काउछा र सचिव धर्मबहादुर बिक रहेका छन्।

पाल्पामा संयोजक नारायण आचार्य र सचिव ओमबहादुर घर्ति, प्युठानमा संयोजक तुल्सीराम शर्मा, सहसंयोजक हुकमबहादुर खड्का र सचिव मोहनबहादुर जिसी, रुकुम पुर्वमा संयोजक टोपबहादुर ओली र सहसंयोजक रुजिधन घर्ति मगरलाई चयन गरेको कार्यालय सचिव बलराम अधिकारीले जानकारी दिए।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरीको अध्यक्षतामा बसेको बैठकमा लुम्बिनी प्रदेश सह–ईन्चार्जहरु दलबहादुर राना, बैजनाथ चौधरी, गिरधारीलाल न्यौपाने, केन्द्रीय सदस्यहरु लक्ष्मण ज्ञवाली, दिनेश पन्थी, नजिर मिया, दधिराम न्यौपाने, एकराज बिश्वकर्मा, बिमला घिमिरे, मोहम्मद हारुन हलुवाई र नेताहरु नेत्र पन्थी, धनेन्द्रराज घिमिरे, कमलराज श्रेष्ठ, देवराज भार, छविलाल ओलीलगायतको उपस्थिति रहेको थियो भने उक्त बैठकको सञ्चालन प्रदेश सचिव खेममान खड्काले गरेका थिए। 

प्रकाशित मिति: : 2021-04-12 19:09:00

प्रतिकृया दिनुहोस्