रोल्पामा स्कुले विद्यार्थीको दुरुपयोग : प्रजिअले भने, ‘विद्यार्थीको कार्यक्रममा विद्यार्थी नगए को जान्छन् त?’

Breaknlinks
Breaknlinks

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासम्बद्ध विद्यार्थी संगठन– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आफ्नो संगठनको रोल्पा जिल्ला सम्मेलनमा स्कुले विद्यार्थी प्रयोग गरेको छ। 

उक्त संगठनले सोमबार आयोजना गरेको २३औं जिल्ला सम्मेलनमा रोल्पा नगरपालिकास्थित बालकल्याण माविका विद्यार्थीलाई विद्यालयको पोशाक (‘युनिफर्म’) सहित -यालीमा सहभागी बनाएको हो। 

‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला स्तरीय नेताहरू उपस्थित कार्यक्रममा कक्षा नौ र १० मा पढ्ने करिब चार सय विद्यार्थीलाई ‘युनिफर्र्म’ सहित जबर्जस्ती सहभागी गराइएको प्रधानाध्यापक मधुसुदन पोखरेलले बताए।

‘म काम परेर नगरपालिकामा गएको थिएँ। उनीहरूले स्कुलमा पढिरहेका विद्यार्थी निकालेर जुलुशमा लगेछन्,’ उनले भने, ‘पढाइ बिथोलेर दलका जुलुशमा विद्यार्थी लैजानु दुःखद् हो। त्यो पनि जाँचको समय आइरहेको छ। कोर्स पूरा भएको छैन । कक्षाबाट जवर्जस्ती विद्यार्थी लिएर गएछन्।’

राजनीतिक पार्टीका कार्यक्रममा विद्यार्थीलाई जान नदिँदा अनेक बहाना बनाएर दुःख दिने गरेको प्रधानाध्यापक पोखरेलको गुनासो छ। पढाइ रोकेर विद्यार्थीहरूलाई ‘युनिफर्र्र्म’मै पहिला बजार परिक्रमा गराइएको थियो।

‘विद्यालय शान्ति क्षेत्र’ घोषित भएको अवस्थामा स्कुले विद्यार्थीलाई किन राजनीतिक पार्टीका सभा–समारोहमा प्रयोग भएको भन्ने बिएल नेपाली सेवाको जिज्ञासामा रोल्पाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले ‘विद्यार्थी संगठनको कार्यक्रममा विद्यार्थीहरू सहभागी हुनसक्ने’ ठाडो जवाफ दिए।

प्रधानाध्यापक पोखरेलले जबर्जस्ती विद्यार्थीहरूलाई संगठनको कार्यक्रममा समावेश गराइएको भन्ने भनाइप्रति प्रजिअ रानाले ‘राजनीतिक पूर्वाग्रही’ आरोप लगाएका छन्। 

प्रजिअ रानाले भने, ‘मलाई अहिलेसम्म विद्यार्थी जवर्जस्ती लगेको भन्ने कुनै जानकारी छैन। उहाँले (प्रअ)ले जबर्जस्ती आफ्ना विद्यार्थीहरू कक्षाबाट निकालेर लगेको कुरा प्रहरी वा मलाई जानकारी गराउँनुप-यो नि ! विद्यार्थी संगठनको सभामा विद्यार्थी नगएर को जान्छन् त?’

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले आफूबाहिर भएको कारण त्यस विषयमा जानकारी नभएको बताएका छन्। ‘खै, म बाहिर भएकोले आजको बारेमा त थाहा भएन्, तर यसरी राजनीतिक संगठन आएर विद्यार्थी जबर्जस्ती लैजान खोज्छन्,’ उनले भने, ‘यस्ता गतिविधि धेरै हुने भएको हुँदा विद्यार्थीको पढाइमा असर पर्छ। आगामी दिनमा राजनीति दलसँग सल्लाह गर्छाैं।’



राजनीतिक विरोधको नाममा रोल्पामा फेरि कलिला विद्यार्थीको प्रयोग (भिडियाेसहित)

प्रकाशित मिति: : 2021-04-12 17:52:00

प्रतिकृया दिनुहोस्