एउटा तक्मा मलाई पनि दिइबक्सियोस् न सरकार !

लोकान्तर

काठमाडाै‌ं
दिलनिशानी मगर

मेरो एकजना साथीले आफूले सुत्ने कोठाको भित्ताभरी अतिथि आशनग्रहणको ब्याच टाँसेर सजाएको थियो।

मैले 'यस्तो के गरेको यार ? भनेर प्रश्न गर्दा 'पछि बुढेसकालमा म पनि यस्तो ठूलो मान्छे थिएँ कुनै जमानामा भनेर हेर्न हुन्छ' भन्थ्यो। 

ब्याच मात्र हैन उनको भित्तामा अनेकथरीका प्रशंसा पत्र, कदर पत्र, स-धन्यवादका प्रमाणपत्र, कपडाको खादाहरू अनि मायाको चिनो लेखिएका विभिन्न सामग्रीहरू बडो मेहनतका साथ झुन्ड्याइएको थियो । एउटा त तक्मा पनि थियो। शायद उनी त्यही भित्तामा झुन्डिएका जीवनका उपलब्धिहरू हेरेर निदाउँथे, उठ्थे। 

उनको कोठाको भित्तामा रेखा थापाको एउटा ठूलो आकारको फोटो पनि टाँसिएको थियो। 

मेरो कोठाको भित्ता भने शून्य, शून्य थियो। दुई जोर थोत्रा पाइन्ट त्यो पनि झुन्ड्याउने ह्यांगर र दराज नहुँदा भित्तामा ठूलो काँटी ठोकेर काँटीकै सहारामा झुन्ड्याएको थिएँ। एकदिन त 'मेरो यस्तो राम्रो घरमा किन काँटी ठोकेको' भनेर घरबेटीले गाली गरे। अनि त्यसपछि भित्ता रित्तो भयो। पाइन्ट खाटमुनि गयो। कवि भूपि शेरचनले 'भित्ताको पनि कान हुन्छ' भने जस्तै मेरो भित्तामा भित्ताको कानबाहेक केही थिएन। 

धेरै पछि देश, विदेश जाँदा हिँड्दा काठमाडौं लगायत पूर्व-पश्चिम जाँदा साथीहरूको बैठक कोठा भने निकै सजिएको पाएँ। तक्माहरू, पुराना फोटाहरू, प्राचीन कलात्मक फूल बुट्टाका चित्रहरू यस्तै यस्तै। ललितपुरको एकजना ठकुरी साथीको घरको भित्तामा त राजाको पालामा दिइएका दर्जनौं तक्मा थिए। उनको पुर्खा दरबारको सुसारे रहेछ। दरबारको सुसार गरेका कारण यतिधेरै तक्मा पाएका रहेछन्। 

साथीहरूको घरमा त्यस्ता चिजहरू देखेयता मलाई पनि कसैले एउटा तक्मा दिए त हुन्थ्यो नि भन्ने लागेको हो। कसैले तक्मा दिए यसरी नै कोठाको भित्तामा सजाएर राख्ने थिएँ । आफू ठूलो मान्छे भएको, राष्ट्रले सम्मान गरेको व्यक्तित्व भएको भनेर गम खाएर हिँडाइ, बोलाइको चालढाल नै फरक निकाल्ने थिएँ जस्तो लाग्छ। तर अहँ कहीँ कतैबाट तक्माको अफर अहिलेसम्म आएको छैन। 

प्रकाशित मिति: : 2021-04-11 16:47:00

प्रतिकृया दिनुहोस्