सुदूरपश्चिमको बैतडीमा उनी ४४ वर्ष अगाडि जन्मिए। पढाइको पहुँच थिएन। उनी राम्रो पढून्। ठूलो मान्छे बनून्, उनका काकाको यही सोच थियो। गाउँबाट पढाउनकै लागि काठमाडौँ ल्याए। उनी काकासँगै बसेर काठमाडौँमा पढे।
एसएलसी भीएस निकेतनबाट गरे। प्लसटु वीरेन्द्र सैनिक आर्मी क्याम्पसबाट गरे। एमबीबीएस धरानबाट गरे। एमएस शिक्षणबाट गरे। २००६ मा एमएस सके। अनि शिक्षण अस्पतालमै काम सुरु गरे।
बच्चाको डाक्टर बन्ने उनको सपना थियो। तर उनको त्यो सपनाले बाटो मोड्यो। उनी सर्जन बने। सर्जन भएरै काम गर्न थालेको १५ वर्ष भयो, डा. रमेश सिंह भण्डारीले।
सर्जन भएर काम गर्न थालेपछि उनलाई कलेजो, प्यानक्रियाजमा बढी ‘इन्ट्रेस्ट’ थियो। त्यसैमा थप विशेषज्ञ अध्ययन गर्छु भनेर उनी लागे। त्यही अनुसार उनले अष्ट्रेलियामा पनि पढ्न पाए। त्यो ‘इस्प्यासिलिटी’को सबैभन्दा ठूलो कलेजो प्रत्यारोपणलाई मानिने उनले बताए।
लिभर ‘सर्जरी र लिभर ट्रान्सप्लान्ट’का लागि दुई पटक अष्ट्रेलिया पुगे। पहिलो पटक सन् २०१० मा गए।
जब उनले बाहिर जाने योजना बनाएका थिए, त्यही बेला नै उनले अर्को योजना बुनिसकेका थिए ‘फर्केर ‘लङ्ट्रम’मा गएर नेपालमा नै कलेजो प्रत्यारोपण सुरु गर्ने’। त्यही योजनाका साथ उनी विदेशमा गए। अध्ययन गरे। फर्केर आए।
पहिलो पटक विदेश गएर आएपछि नेपालमा कलेजो प्रत्यारोपण गर्न सकिन्छ, सकिँदैन, यी सबै कुरा उनले राम्रोसँग बुझे। बुझ्दै गर्दा उनले थुप्रै चुनौती देखे। काम गर्न गाह्रो थियो। तर इच्छा हुनुपर्छ। मन लगाएर अगाडि बढ्यो भने केही कुरा पनि नसकिने छैनभन्ने उनलाई लाग्यो। र कलेजो प्रत्यारोपणको सपना देखे।