छ दिनदेखि लगातार १३० अङ्कले बढेको नेप्सेमा सामान्य 'करेक्सन'

फाइल तस्वीर
फाइल तस्वीर

सेयरबजार सुस्त देखिएको छ । कारोबार 'भोलुम' पनि भने औसत रहेको छ।

छ दिनदेखिको लगातार वृद्धिपछि बुधबार नेप्से परिसूचकमा सामान्य 'करेक्सन' देखिएको छ। गत साताको मंगलबारदेखि ६ दिनसम्म नेप्से परिसूचक १३०.९५ अंक बढेकोमा बुधवार करिब २.८५ अङ्कले घटेको हो।

नेप्से, बुधवार घटेर २६७१.६२ विन्दुमा झरेको छ तर, यस दिन 'सेन्सेटिभ इण्डेक्स' भने ०.६२ अंक बढेर ४७६.८० विन्दुमा पुगेको छ।

२१५ कम्पनीको ७६ हजार ५९१ पटकको कारोबारमा ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार रुपैयाँ बराबरको १ करोड ६५ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से परिसूचकमा गिरावट आए पनि पाँच कम्पनीको शेयर भने सकारात्मक 'सर्किट लेभल' मै कारोबार भएको छ।

महिला लघुवित्त, चन्द्रागिरी हिल्स, एनआईसी एशिया लघुवित्त, रिलायन्स फाइनान्स र युनिभर्सल पावर कम्पनी लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

खानीखोला हाइड्रोपावर र बुधवारदेखि कारोबार हुन थालेको ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब ८ प्रतिशतले बढेको छ। रैराङ्ग हाइड्रोपावरको शेयरमूल्य यस दिन ७ प्रतिशतभन्दा बढी घटेको छ।

बुधबार कारोबार भएका १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी सात उपसमूहको परिसूचक घटेको छ।

होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ६.०२ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.९४ प्रतिशत घटेको छ।

लघुवित्तको उपसमूहको परिसूचक २.१६ प्रतिशत र विकास बैंकको १.५ प्रतिशत बढेको छ भने लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि नेपाल इन्फ्रास्टक्ट्रचर बैंक शीर्ष स्थानमा रहेको छ।

सो बैंकको २७ करोड ६३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। चिलिमे हाइड्रोपावरको २२ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति: : 2021-04-07 17:21:00

प्रतिकृया दिनुहोस्