प्रदूषण नियन्त्रणका लागि सरकार गम्भीर भएन: विवेकशील साझा 

Photo - Rss
Photo - Rss

विवेकशील साझा पार्टीले काठमाडौं विश्वकै सबैभन्दा प्रदूषणयुक्त सहरको सूचिमा पहिलो नम्बरमा पुग्दासमेत सरकारले प्रदूषण नियन्त्रणका लागि गम्भीर चासो र तत्परता नदेखाएको आरोप लगाएको छ।

बुधबार साझा पार्टीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘काठमाडौँ उपत्यकासहित देशभर पछिल्लो समय वायु प्रदूषण उच्च भई अत्यन्त घातक अवस्थामा पुगेको छ। काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषणयुक्त सहरको सूचिमा पहिलो नम्बरमा पुग्दासमेत सरकारले प्रदूषण नियन्त्रणका लागि गम्भीर चासो र तत्परता नदेखाउनुले थप चिन्ता बढाएको छ।’

विज्ञप्ति भनिएको छ, ‘संघ, प्रदेश र स्थानीय सरकारबिच समन्वय गरी सामुदायिक समूहहरूको समेत साथ लिएर सेना र प्रहरीलाई आवश्यक उपकरणसहित डढेलो नियन्त्रणमा अविलम्ब खटाउन विवेकशील साझा पार्टी आग्रह गर्दछ। डढेलो नियन्त्रणका लागि अन्य मुलुकले उपयोग गरिआएको हेलिकप्टरबाट रसायन छर्किने सहितका प्रविधिको उपयोगबारे पनि  तत्काल तयारी अघि बढाउन हामी आह्वान गर्दछौँ।’

अहिलेको समस्या वातावरणीय मात्रै नभई यसले जनस्वास्थ्यमाथि पनि ठुलो संकट ल्याउन सक्ने भएकाले न्यूनीकरणका लागि हरेक नागरिकले आफ्नो कर्तव्य निर्वाह गर्नु जरुरी भएको बताएको छ।

‘धुवाँ धुलो नियन्त्रणका लागि केही समय सवारी साधन संचालनमा जोरबिजोर प्रणाली लागू गर्ने, सम्भव भएसम्म घरबाट काम गर्न प्रेरित गर्ने, आवश्यक परे प्रदूषण गर्ने उद्योग कलकारखाना केही समय बन्द गर्ने लगायतका उपाय लगाउनु वाञ्छनीय हुनेछ’, विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: : 2021-04-07 16:05:00

प्रतिकृया दिनुहोस्